प्रधानमन्त्रीको निर्देशनपछि राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाएको थियो । हिजो भएको छलफलअनुसार आज पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल शुरु गरेको हो । प्रधानमन्त्री कार्यालयबाट डाटाबेस विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए । टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरूपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो ।
त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरूसँग प्रधानमन्त्री कार्यालयको टोलीले हाल देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो । भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीको प्राविधिक समस्याका कारण सयौँ नेपालीले समस्या झेल्नुपरेकोले सम्झौताअनुरूप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कम्पनीले आफ्ना दुई जना उच्चस्तरका प्राविधिकलाई आजै नेपाल पठाएर समस्यालाई थप पहिचान गरी हल गर्न सहमति जनाएको हो ।
भारत र मलेशियाबाट दुई जना प्राविधिक आजै नेपाल आउने र भोलि शुक्रबार प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीसँग छलफल गरेर फेरि समस्या नआउने गरी समाधान खोजिने छ । यसअघि प्रधानमन्त्री दाहालले आजै उपप्रधान तथा गृहमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, राहदानी विभागका महानिर्देशकलगायतसँग समस्या तत्काल हल गर्न छलफल गरेका थिए । छलफलमा तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो छरितोरूपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया