देशमा ६ सय २७ प्रहरी युनिट थप्न माग

नेपालखोज २०७८ माघ १४ गते २३:५५

कास्की । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुई वटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई कदरपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनु पर्ने बताए । नागरिकको सुरक्षा एवम संविधानको रक्षार्थ प्रहरी संगठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रहरी संगठनको लोकप्रियताकै कारण देशमा हाल ६ सय २७ प्रहरी युनिटहरु थप गर्न माग गरिएको जानकारी दिए । आफ्नो इमान्दारिता र जिम्मेवारीलाई सबैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विचार व्यक्त गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवं विश्वास गरेको प्रसंग उल्लेख गर्दै राष्ट्रको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन गर्न नहुने उल्लेख गरे ।

उक्त अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी संगठनलाई पनि पुर्वाधार एवं प्रविधि सम्पन्न बनाउनु पर्नेमा जोड दिँदै महानगरपालिकाले पुर्वाधार सम्पन्न बनाउन आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गरिरहेको बताए ।

सोही अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जिउ धनको सुरक्षार्थ खटिने प्रहरी पुर्वाधार अभावका कारण आफै असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिँदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पुर्वाधारहरु तयार गरिदिनुपर्ने बताए ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको कुल ७ करोड ६ लाख ११ हजार ८ सय ४२ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएका उक्त भवनहरुमा महिला तथा पुरुष व्यारेक, सिनीयर र जुनियर कर्मचारी व्यारेक, दुई वटा महिलासहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको मेशको निर्माण गरिएको जानकारी दिए ।

प्रतिक्रिया