रात्रिकालिन व्यवसाय संचालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी

नेपालखोज २०७८ माघ १४ गते २०:२१

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरु लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए । गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफुहरुको पीडा सुनाए पनि सुनुवाई नभएको उनले बताए । गुरुङले रात्रिकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए ।

अमेरिका जस्ता ठुलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको उनले बताए । नेपालमा कुनै आधार नभई बन्द गरिएकोमा आफूहरुको आपत्ति रहेको सुनाए । देशमा राज्य नभएको महसुस गरिरहेको बताए । कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिए । राज्यलाई आफुहरुको समस्याको समाधान गर्न उनले आग्रह गरे ।

त्यस्तै, रात्रिकालिन मनोरन्जन व्यवसायको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिएका छन् । आफ्ना समस्याहरु सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको उनले बताए । तर, आश्वासन आउने कार्यान्वयन नहुने गरेको बताए । जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए । उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालिन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे ।

त्यस्तै, दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको बताए । आफूहरुका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको बताए । सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको बताए । यसले सामाजिक र आर्थिक क्षेत्रमा दूरगामी समस्या आइसक्दा पनि सरकारको चेत नखुलेको उनले बताए ।

यसैगरी, कार्यक्रममा बोल्दै व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको बताए । यसरी पटक–पटक व्यवसाय बन्द गराइदा अर्वौ नोक्शान भएको बताएका छन् । उनले युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी श्रुजना गरेको तर राज्यले आफूहरुलाई बर्बादीमा धकेलेको सुनाए ।

प्रतिक्रिया