शुक्रबार, वैशाख २१, २०८१

नेपालले शनिबार मोरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै

नेपालखोज २०७८ माघ १४ गते २०:५१

काठमाडौं । पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ । उता भ्रमणकारी टोली मोरिसस भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ ।

केही सातादेखी मोरिसससँगको खेलका लागि तयारी गरिरहेको नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमी कमजोरी सुधार गर्ने हुनेछ । खेलको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलनमा टोलीका कप्तान किरण चेम्जोङले शनिबार मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए ।

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षका अबदुल्लाह अलमुताइरी भने खेल अघिको पत्रकार सम्मेलनमा उपस्थित हुनु भएन् । यसअघि सामाजिक सञ्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताउनु भएका प्रशिक्षक सामाजिक सञ्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा स्वास्थ समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले श्रेष्ठले बताए ।

मुख्य प्रशिक्षक अलमुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी देश भएकाले शारिरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताए । मैत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीको रुपमा रहेको भन्दै सहायक प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलहरुमा भएका कमीकमजोरीलाई सुधार गर्दै सुखद् नतिजाका लागि खेल्ने बताए ।

त्यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफू भन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए । शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रिपूर्ण खेल मंगलबार खेल्दै छ ।

दशरथ रंगशालामा हुने खेल बेलुका ४ः४५ बजे हुँदैछ । सो खेलका लागि एन्फाले एक तिहाई दर्शकलाई प्रवेश अनुमति दिँदैछ । जसमा स्वास्थ मापदण्ड कडाईका साथ लागू हुनेछन् । प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनु पर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परिक्षण गर्नेछ ।

प्रतिक्रिया