बूढासुब्बाको बाँस…

धरान । नेपालमा कहीँ पनि नपाइने धरानस्थित प्रसिद्ध बूढासुब्बा मन्दिर परिसरको टुप्पो नहुने बाँसको प्रजाति सिमेन्टका संरचनाहरु निर्माण भएकाले नष्ट हुने अवस्थामा पुगेको वनस्पति विज्ञाले प्रारम्भिक अनुमान गरेका छन् । नेपालको चर्चित धार्मिकस्थल बूढासुब्बाको आकर्षणहरुमध्ये टुप्पो नहुने बाँस पनि एक हो । परिसरमा मन्दिरअगाडि र पश्चिमोत्तरतर्फ बाँसका तीन ठूला झ्याङहरु छन् ।
दशकयता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको बीच भाग खाली हुँदै आएको छ । झ्याङको वरिपरि ढुंगा-सिमेन्टको टेवा पर्खाल लगाइएको अवस्थामा बाँस विस्तारै नष्ट हुने चिन्ता बढेको छ । यसबारे मन्दिरका पुजारी परिवारले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपछि मेयर तिलक राईले दुईपटक स्थलगत अवलोकन गरी संरक्षणको आवश्यक उपाय खोजिने वचन दिएका छन् ।
मेयर राई केन्द्रीय प्रविधि क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक सञ्जु पराजुलीलाई लिएर बाँसको अवलोकन गर्न बिहीबार दोस्रोपटक पुगे । वनस्पति विज्ञ पराजुली, मन्दिरका पुजारी उत्तम आले, नर्सरी व्यवसायी प्रेमप्रसाद पराजुलीसहितको टोलीसँग उनले बाँसको अध्ययन गरी अवस्था र संरक्षणका उपायबारे लिखित प्रतिवेदन उपमहानगरपालिकामा प्रस्तुत गर्न आग्रह गरेका छन् ।
बाँसको अहिलेको अवस्था अवलोकनपछि प्राध्यापक पराजुलीले बाँसको झ्याङलाई घेराउ गरी सिमेन्टीको पर्खाल लगाएकोले नयाँ बाँस पलागउन नसकेको प्रारम्भिक धारण सुनाइन् । उनका अनुसार बाँसको वंश वृद्धिका लागि सूर्यको प्रकाश र पानी आवश्यक हुन्छ । बूढासुब्बाको बाँसका झ्याङहरु बढेर प्रकाशको अभाव भएका बीचका भागमा नयाँ बाँस पलाउन नसकेको हो । सिमेन्टको संरचनाले पर्याप्त पानी सोसेर राख्ने प्रक्रिया पनि अवरुद्ध भएको आशंका गरिएको छ ।
बाँसको प्राकृतिक विकास झ्याङ बढ्दै गएपछि सूर्यको प्रकाश जतातिर बढी हुन्छ त्यतैतिर नयाँ झ्याङ बढ्दै जाने स्वभाव हुने बताउँदै वनस्पति विज्ञ पराजुलीले भनिन् ‘यँहा बाँस झ्याङलाई घेराव गरी सिमेन्टको पर्खाल लगाएकोले प्राकृतिक रुपमा बाँस अघि बढ्न पाएको देखिएन् ।’ यस्तै अवस्था रहेमा नयाँ बाँस पलाउने प्रक्रिया अवरुद्ध हुनसक्छ । विचमा सुकेका बाँसहरु अवधिक रुपमा निकाल्नु पर्नेमा झ्याङमा त्यस्ता बाँसहरु त्यतिकै रहेकामा पनि उनले ध्यानाकर्षण गराइन् ।
पुजारी उत्तम आलेका अनुसार गएको ७/८ वर्षयता बूढासुब्बाको बाँसका झ्याङहरु विचमा नयाँ तामा नलागी खाली हुँदै गएको देखिन थालेको हो । हरियो बाँसका बोटहरुमा खोपेर श्रद्धालु युवा युवतीले प्रेमको चिनो स्वरुप नाम लेख्ने प्रचलन बढेको थियो । त्यस्ले बाँसको वृद्धिमा असर पुर्याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाइएको थियो । त्यसै अवधिमा सिमेन्टको दुईदेखि तीन फिटसम्मको टेवा उठाएर बाँसलाई तारजाली समेत लगाइएको हो । उनले भने ‘विजयपुरका मगर परिवारका तेह्र पुस्ता अहिले बूढासुब्बाको परम्परागत पूजा अर्चना धान्दै आएको छ, बाँसको समस्या पहिलो पटक देखियो ।’
बूढासुब्बाको टुप्पो विनाको बाँसको प्रजातिका बारेमा आधिकारीक जानकारी दिने कार्य कोही विज्ञले गरेको पाइन्न । पहाडि क्षेत्रमा पाइने भालुबाँस प्रकृतिको उक्त बाँस भानुबाँस भने नभएको नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीले बताए । भालुबाँसमा सुकेपनि कढापन यथावत रहन्छ । बूढासुब्बाको सुकेको बाँस भने फोस्रो भएको पाइएको छ । उनले भने ‘यो बाँस कतै नपाइने लोप हुन लागेको बाँसको प्रजाति पनि हुनसक्छ ।’
पुजारी आलेका अनुसार उक्त बाँस नष्ट हुन नदिन वृक्षारोपण पनि गरिएको थियो । तर परम्परागत विश्वास अनुसार बूढासुब्बोको पुराना बाँस वैशाखी पूर्णेको अघिल्लो दिन मात्र काट्ने चलन छ । त्यस अघि पछि काट्न हुन्न । असार साउन तिर गरिनुपर्ने काम चैत वैशाखमा गरिएकोले हुनसक्छ नयाँ वृक्षारोपणबाट नयाँ बाँस पलाएन । नर्सरीका व्यवसायी समेत रहेका पराजुलीका अनुसार बूढासुब्बाको बाँसलाई टिस्यु कल्चर गरेर वा ग्रीन हाउसमा वेर्ना उमार्ने प्रयास गरेर नयाँ बाँसको वृक्षारोपण गर्ने सम्भावना छ ।
बूढासुब्बा परिसरमा भएको संक्षिप्त छलफलमा बाँस झ्याङ घेरेर बनाइएको सिमेन्ट ढुंगाको टेवा पर्खाल हटाएर बाँसको जाली बनाएर टेवा लगाउन उपयुक्त हुने प्रस्ताव आएको छ । यसबारे बाँसको विकास र संरक्षणका विस्तृत प्रस्ताव उपमहानगरापलिकामा पेस भएपछि आवश्यक संरक्षण कार्य तत्काल शुरु गरिने बताइएको छ ।

प्रतिक्रिया