मुलुकलाई निकास दिन सत्ता गठबन्धन जिम्मेवार हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउने प्रयत्न भइरहेको बताएका छन् । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका पौडेलले आज बसेको सत्ता गठबन्धन बैठकमा संसद, सरकार र अदालतमा जारी गतिरोध अन्त्य गर्न नसक्ने हो भने गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्ने बताए ।
उनले संसद चल्न नसक्नु दुखद रहेको बताए । उनले भने ‘आज देशमा संसद चलेको छैन । अदालतमा पनि गतिरोध कायमै छ । सरकारले एउटा कानून संशोधन गरेर संसदबाट पास गराउन सकेको छैन । यस्तो अवस्थामा यो राज्यव्यवस्था नै असफल हुने खतरा मैले देखेको छु ।
उनले मुलुकलाई निकास दिन सत्ता गठबन्धन जिम्मेवार हुनुपर्ने बताए । उनले व्यवस्थालाई असफल बनाउन खोजिएको समेत आरोप लगाए । उनले भने, ‘राज्यको कुनै पनि निकायले ठीकठाक काम गर्न नसकेपछि यो व्यवस्थालाई नै असफल बनाउन खोज्नेहरु क्रियाशील भइरहेको देखिन्छ । यसबारे गठबन्धनले गम्भीर समिक्षा गरेर निकास नखोज्ने हो भने त गठबन्धनमाथि नै प्रश्न उठ्छ नि ।’
उनले संविधान र व्यवस्था अनुकुल हुनेगरी मुलुकलाई निकास दिनुपर्ने बताए । शनिबारको गठबन्धन बैठकमा वैशाखमै स्थानीय निर्वाचन गर्नेबारे छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तीनै तहको निर्वाचन एकैपटक गर्ने पक्षमा छन् । उनीहर बरु सुरुमा संघीय निर्वाचन गरेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडानमा छन ।

प्रतिक्रिया