स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्नेलाई बाटो खुल्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्ता गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए ।
उनले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिस्टम नै नरहने अवस्था आउने पनि बताए । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरुलाई बल पुग्नेतर्फ पनि सचेत गराए । उनले भने, ‘साहसका साथ निर्वाचनमा जान सक्नु पर्छ । गठबन्धन होस वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । र, अन्ततः यो डेमोक्रेटिक सिस्टम जान्छ र जसले यो संविधान चाहेका छैनन् । त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ ।’
पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारु गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरे । उनले आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गरे । उनले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे । उनले भने, ‘नम्बर वान, यो अदालत संचालन गर्नलाई एउटा हाईलेवल कमिशन गठन गरेर जानुपर्छ । हामीसँग संविधान छ । यो स्वतन्त्र न्यायालय कसरी चलाउनुपर्छ भन्ने सन्दर्भमा विभिन्न इन्क्वरी गर्न सकिन्छ । यसको बारेमा जाँचबुझ गर्न सकिन्छ । आगामी दिनमा न्यायालय कसरी चलाउने भन्ने बारेमा अनुसन्धान गर्न सकिन्छ, विज्ञहरुसँग छलफल गरेर प्रतिवेदन तयार पार्न सकिन्छ । तर सरकारका कमजोरीका कारण त्यो हुन सकेको छैन । न्यायालय स्तब्ध भएर बसेको छ ।’

प्रतिक्रिया