सत्ता गठबन्धनको बैठक सुरु, स्थानीय तह निर्वाचनबारे ठोस निर्णय गर्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा फेरि सुरु भएको छ । बिहान गठबन्धनका नेताहरुले स्थानीय तह निर्वाचनका सम्बन्धमा नै छलफल गरेका थिए ।
बिहान भएको बैठक बिना निश्कर्ष सकिएपछि फेरि नेताहरु छलफलमा जु्टेका हुन् । स्थानीय तहको मिति आज तोक्न सक्ने पनि बताइएको छ । बैशाखमा स्थानीय तह निर्वाचन गर्नेबारे ठोस निर्णयमा पुग्ने बताइएको छ । निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पनि १२० दिनको समय लाग्नेछ ।
नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् दबाबमा छन् । कांग्रेसभित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमा स्थानीय तहको निर्वाचन गर्न दबाब छ । देउवालाई तीनै तहको निर्वाचन समयमा गर्न कांग्रेसका शीर्ष नेताले दबाब दिएका हुन् । देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मनाएर समयमा तीनै तहको निर्वाचन गर्न अग्रसर रहेको बताइएको छ ।
देउवालाई पार्टीबाट निर्वाचनको मिति नसार्न दबाब आएपछि बरु देउवा प्रचण्ड र नेपाललाई फकाउन लागिपरेका छन् । नेकपा एमालेले पनि प्रधानमन्त्री देउवालाई स्थानीय तह निर्वाचन समयमा गराउन दबाब दिएपछि देउवा अप्ठ्यारोमा परेका हुन् । उनले गठबन्धन पनि जोगाएर अघि बढ्न बैठक राखेका हुन् । नेपाल र प्रचण्ड सुरुमा संघीय निर्वाचन गर्ने लाइनमा छन् ।

प्रतिक्रिया