शुक्रबार, वैशाख २१, २०८१

६ पटकको उपाधि विजेता मनाङ एपीएफसँग पराजित, एपीएफलाई पहिलो उपाधि

नेपालखोज २०७८ माघ १५ गते १७:५१

काठमाडौं । पोखरामा जारी आहा–रारा गोल्डकपको २० औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।

६ पटकको उपाधि बिजेता मनाङलाई पराजित गर्दै एपीएफले आहा–रारा गोल्डकपको पहिलोपटक उपाधि उचाल्दै इतिहास बनाएको छ । एपीएफका पाँचै खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए । घरेलु टोली मनाङका ओलावाले आफिजको पेनाल्टी प्रहार एपीएफका गोलरक्षकले रोकेका थिए ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

यसअघि खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा दयानन्द सिंहले हेडमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए । ८४ औं मिनेटमा विदेशी खेलाडी फ्र्यांकलिन कुएटे टाल्लाले गोल गरेपछि मनाङले अग्रता बनाएको थियो । तर इन्जुरी समयमा एपीएफका रबि थिङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ पाएको छ । उपविजेता मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतिक्रिया