बिहीबार, वैशाख २०, २०८१

दश वर्षपछि मैत्रीपूर्ण खेलमा नेपालको पहिलो जित, मौरिसस १-० ले पराजित

नेपालखोज २०७८ माघ १५ गते १८:३८

काठमाडौं । घरेलु टोली नेपाल र मौरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल नेपालले जितेकाे छ । बिमल घर्तीमगरले ५४ औं मिनेटमा गरेकाे गोल नै निर्णायक बन्याे । उनले हालसम्म टिमका लागि ९ गोल गरिसकेका छन् ।

पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जन गरेपनि गोल गर्न सकेनन् । खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

त्यसपछि अन्जन विष्टको प्रहारलाई मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइसले सहजै बचाए । सुमन लामाको प्रहार आकासियो । १६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे ।
३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिँदै नेपालको खतरा टारे ।

४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो । डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । दोस्रो हाफको ९ मिनेटमा नै भने अन्जन विष्टको पासमा बिमलले गोल गरे ।

नेपालले पहिलोपटक अफ्रिकी राष्ट्र मौरिसससँग आधिकारिक खेल खेलेको हो । सन् २०११ मा भुटानलाई हराएपछि मैत्रीपूर्ण खेलमा नेपालले पहिलो जित दर्ता गराएको हो ।

प्रतिक्रिया