जेठभित्रै स्थानीय तहको चुनाव गर्न सरकारलाई गठबन्धनको सुझाव

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए तत्काल प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ । गठबन्धनमा रहेका दलबीच नै स्थानीय तह निर्वाचन सम्बन्धमा सहमति जुट्न नसकेपछि कानुननविद्सहित साँझ छलफलमा बस्ने गरी बैठक स्थगित गरिएको थियो । संविधान र निर्वाचन ऐनमा द्धिविधा देखिएको भन्दै सत्तारुढ गठबन्धनले यसअघि पनि कानुनविद्सँग छलफल गरेका थिए ।
कानुनविद्हरुले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधान अनुरुप बनाउनुपर्ने सुझाव दिएका थिए । नेपाली कांग्रेसभित्र समेत निर्वाचन सार्न हुने वा नहुने भन्ने विषयमा मत विभाजन हुन थालेको थियो ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय चुनाव नसार्न सुझाव दिएकी थिइन् । सरकारले स्थानीय निकायको निर्वाचन सार्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल सहित बुद्धिजीवि नागरिक समाजले बिरोध गर्दै आएका थिए ।

प्रतिक्रिया