शुक्रबार, असार १३, २०८२

कुष्ठरोग निवारण घोषणामै सीमित

नेपालमा वार्षिक तीन हजारबढी नयाँ विरामी थपिँदै

नेपालखोज २०७८ माघ १६ गते १०:१७

काठमाडौं । नेपालमा कुष्ठरोग दिवस मनाउन थालिएको वर्षौं भएको छ । विभिन्न जनचेतनामुलक कार्यक्रमहरू पनि नभएका होइनन् । १२ अघि नै कुष्ठ निवारण भएको घोषणा गरिए पनि यो घोषणामै सीमित जस्तो देखिएको छ । विरामीको संख्यामा केही कमी भए पनि कुष्ठरोग निवारण भएको घोषणाले सार्थकता पाउन सकेको छैन ।

६९औँ विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार दिवस मनाउने गरिएको छ ।

तर समाजमा अझै पनि केही व्यक्तिले सचेतना अभावमा रोग लुकाउने गरेका छन् । केही व्यक्तिलाई कुष्ठरोग भइसकेपछि मात्रै थाह हुने भएकाले यो रोग सर्ने क्रम पनि जारी छ । विशेषतः यो रोग औषधि नखाएका दिर्घरोगीबाट श्वासप्रश्वासको माध्यमबाट सर्ने खतरा हुने गर्छ ।

कुष्ठरोगको असर

माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट कुष्ठरोग लाग्ने गर्छ । कुष्ठ रोग लागेमा छाला, नसालगायत असर गर्ने चिकित्सकहरू बताउँछन् । यो रोग लागेपछि शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने र गिर्खाहरू देखा पर्छन् । यस रोगले मांसपेशीलाई कमजोर बनाउने गर्छ ।कुष्ठरोगको उपचार हुन नसके शारीरिक अपांगता हुने सम्भावना हुन्छ । अपांगतासँगै ज्यान गुमाउने जोखिम हुनसक्छ ।

सामाजिक अन्धविश्वास

कुष्ठरोगसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि गाउँघरमा कुष्ठरोगी अझै लुकीछिपी बस्ने गरेका कारण कुष्ठरोग निवारण हुन नसकेको चिकित्सक बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दुई वर्ष यतादेखि कुष्ठरोगीको संख्या थपिँदै गएकोे छ ।नेपालमा कुष्ठरोगप्रति समाजिक अन्धविश्वास छ । पापकर्म गरेकालाई हुने रोग भन्दै समाजका मानिसहरूले हेला गरिदिँदा कतिपयले रोगै लुकाउने गर्छन् ।

चेतनामुलक कार्यक्रम

विभिन्न सचेतनामुलक कार्यक्रमका कारण पछिल्लो समय यसका रोगीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन भएको छ । विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाको पहलमा औषधि खाए निको हुन्छ र सर्दैन भन्ने चेतना फैलिएको छ ।

नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ ।लक्षण देखिएमा समयमै अस्पताल तथा स्वास्थ्य संस्था जानु उपयुक्त हुने चिकित्सकहरूले सुझाएइका छन् ।

प्रतिक्रिया