सहिदको सम्मान गर्न संविधानको संरक्षण आवश्यक : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । सहिद दिवसका अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको बताए ।
देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले सहिदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण उनले गराए । प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरुलाई जाने उनले बताए । उपराष्ट्रपति पुनले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्यांकन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गरे ।
सहिदहरुको बलिदानी सबै नेपाली जनतालाई अधिकार सम्पन्न, सुखी, खुसी र समृद्ध बनाउँदै शान्त, समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि भएको पुनको भनाई छ । उनले सहिदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता उपलब्धिहरूलाई संस्थागत गरेको संविधानको संरक्षण र पूर्ण पालन गर्नु सबैको दायित्व भएको स्मरण गराए ।

प्रतिक्रिया