मनाइयो १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस

काठमाडौं । ‘रगत र रक्ततत्त्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ, त्योभन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छ’ भन्ने नाराका १६औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाइएको छ ।
दिवसका अवसरमा गरिएको औपचारिक कार्यक्रमअघि रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपालखोजलाई जानकारी दिए । कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रशंसा-पत्र पनि वितरण गरिएको थियो ।
कर्मचार्यकै सभापतित्वमा भएको कार्यक्रममा ‘हाम्रो रगत’ नामक पत्रिकाको सामूहिक लोकार्पण गरिएको थियो । पत्रिका भने कार्यक्रमका प्रमुख अतिथि, अतिथि, आमन्त्रित महानुभावहरू र सभापतिलगायतले एकसाथ लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सञ्चारकर्मी तथा गायिका कमला श्रेष्ठको उपस्थिति थियो ।
अतिथिका रुपमा कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार, थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गाप्रसाद पाठक, रेडियो नेपालका संगीत शाखा प्रमुख मनराजा नकर्मी, समाजका सल्लाहकार दिव्यमणि दीक्षित र माता भद्रकालीको सहभागिता रहेको पनि अध्यक्ष कर्माचार्यले जानकारी दिए ।

प्रतिक्रिया