डेढ दर्जन बिमा कम्पनीहरुले बुझाए नयाँ लाइसेन्सका लागि प्रस्ताव

काठमाडौं । बिमा समितिले जीवन, निर्जीवन र लघु बिमाको नयाँ लाइसेन्स दिने तयारी गरेसंगै करिब डेढ दर्जन कम्पनीहरुले नयाँ लाइसेन्सको लागि प्रस्ताव बुझाएका छन् ।
बिमा समितिले त्यसरी आएका नयाँ कम्पनीहरुको फाइल दर्ता गर्ने गरेको बुझिएको छ । बिमा समितिका अनुसार समितिमा हालसम्म डेढ दर्जन कम्पनीहरुले जीवन, निर्जीवन तथा लघु बिमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव पेस गरेका छन् । जसमा ९ वटा कम्पनीले निर्जीवन बिमा, ३ वटाले लघु बिमा र ४ वटाले जीवन बिमाको लागि प्रस्ताव पेस गरेका छन् ।
बिमा समितिमा मुक्तिनाथ जनरल इन्स्योरेन्स कम्पनी, महालक्ष्मी जनरल इन्स्योरेन्स कम्पनी, अन्नपूर्ण जनरल इन्स्योरेन्स, रिलायबल जनरल इन्स्योरेन्स, मनकामना जनरल इन्स्योरेन्स, अभियान जनरल इन्स्योरेन्स कम्पनी र उपकार जनरलले बिमा समितिमा आवेदन दिईसेकेका छन् । जीवन बिममा युनि लाइफ इन्स्योरेन्स कम्पनी, स्टाण्डर्ड लाइफ, उपकार लाइफ र वायोनेट लाइफले बिमा समितिमा संचालनका लागि स्वीकृत मागेको छ ।
लघुबिमाबाट अभियान लघुवित्त, माछापुच्छे लघुबीमा, हव माईक्रोफाइनान्सले आवेदन दिएका छन् । समितिका अनुसार व्यक्तिको नाममा समेत लघुबिमामा आवेदन दिएको पाईएको छ ।
नयाँ कम्पनी जीवन र निर्जीवन कम्पनीको चुक्ता पुँजी ५ अर्ब र साढे २ अर्ब तय भएपछि संचालनमा भईरहेका कम्पनीको के हुन्छ भन्ने आम चाँसो छ । यद्दपी सञ्चालनमा रहेका कम्पनीहरुलाई पनि नयाँकै जति कायम गरिने र त्यसको लागि हकप्रद भन्दा पनि मर्जरलाई नै प्राथमिकतामा राखिने अध्यक्ष सिलवालको भनाई छ । अहिले जीवन बिमा कम्पनीको चुक्तापुँजी २ अर्ब र निर्जीवनको एक अर्ब रुपैयाँ छ । पुनर्बिमाको पनि १० अर्ब रुपैयाँ नै तोकिएको छ ।

प्रतिक्रिया