‘चुनाव हुँदैन कि भन्ने आंशका कसैले नपालौ’

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन् कि भन्ने आशंका नपाल्न आग्रह गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनसम्बन्धी अब कुनैपनि किसिमको शंका तथा आशंका नगर्न स्पष्ट पारेका छन् । नेता खड्काले निर्वाचनमा पाँच दलीय गठबन्धनसँगै जाने सम्भावना आफूले देखेको सुनाए । उनले पार्टीका नेताहरुको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ आफ्नो मत रहेको उल्लेख गरे । नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्ता गठबन्धनले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने भनेर भनेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेसम्म विश्वास गरिहाल्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।
सत्तापक्षीय गठबन्धनले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन बाझिएको भनेर गलत तर्क गरेको पनि उनको आरोप छ । उनले निर्वाचनको तयारी गर्न कुनै बाधा नभएको भन्दै बैशाखमै निर्वाचन गराउन सकिने सुनाए । सत्तापक्षीय गठबन्धन अझैपनि निर्वाचनको विषयमा शंकाको घेरामा रहेको उनको भनाई छ ।
नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने स्पष्ट पारेका छन् । उनले सरकारले संविधाअनुसार निर्वाचन हुने पनि विश्वास दिलाएका छन् । संविधान र ऐन बाझिएको अवस्थामा सरकारले सच्याउने हो भन्दै त्यही भएर अहिले सरकारले छलफललाई तिव्रता दिएको बिडारीले सुनाए ।

निर्वाचनको मिति सरकारले संविधानअनुसार घोषणा गर्ने पनि उनले सुनाए । उनले एमालेले संघदेखि प्रदेशसम्म सबै सरकार गुमाएकोले डर लागेको पनि आरोप लगाए ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णलेले सत्तापक्षले जेठभित्रै निर्वाचन गर्ने भनेर घोषणा गरेको भएपनि अहिल्यै नै यसलाई पत्याउने वा विश्वास गर्ने आधार भने बनिनसकेको स्पष्ट पारेका छन् ।

उनले संविधान र कानुनको कुरा गर्दा पनि केही पनि नबाझिएको जिकिर गरे । उनले संविधानले स्थानीय तहको निर्वाचनको सवालमा जनप्रतिनिधिहरुको पदावधि पाँच वर्षको हुनेछ भनेर प्रष्ट रुपमा भनेको उल्लेख गरे । उनले जनसंख्याको आधारमा स्थानीयत तह निर्धारण नहुँदा र तत्कालिन राजपाले विरोध गर्दा नै स्थानीय तहको निर्वाचन चरणबद्ध रुपमा भएको स्मरण गराए । उनका अनुसार मधेश प्रदेशमा तेस्रो चरणमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया