खल्ती र फोन पेमेन्टबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । मोबाइल वालेट खल्ती र फोन पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । आज काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोन पे र सेवा प्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोन पेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे । सम्झौता भएसँगै खल्ती फोन पेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआरमार्फत सेवा प्रयोग गर्न सक्ने छन् ।
सम्झौता कार्यक्रममा बोल्दै फोन पेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताए । सापकोटाले खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ बिनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताए । उनले फोन पेसँगको यो सहकार्य नयाँ यात्राको सुरुवात भएकाले फोन पेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने बताए । खड्काले फोन पेसँगको सम्झौता पछि खल्तीका २० लाख ग्राहकहरुले फोन पेको क्युआरमार्फत भुक्तानी गर्न पाउने बताए ।
खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पे को जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।
दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी रहेका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् । त्यस्तै फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।
त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा सुरु गरेको खल्तीको पनि २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ । खल्ती प्रयोगकर्ताहरुले विभिन्न किराना पसल, होटल, रेष्टुरेन्ट, फिल्म हल, सार्वजनिक यातायात, धार्मिक क्षेत्रलगायत अन्य व्यापारिक क्षेत्रमा निकै लोकप्रिय बनेको फोन पेको क्यूआर कोडबाट भुक्तानी गर्ने अवस्था थिएन । खल्तीमा विभिन्न खुद्रा पेमेन्ट तथा अनलाइन पेमेन्टहरु हुँदै आएको थियो ।
प्रतिक्रिया