नयाँ महामन्त्री कहाँ छन् भन्नेलाई विश्वको जवाफ ?

नेपालखोज २०७८ माघ १७ गते १९:०५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भईरहेको बताएका छन् । महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको बताए ।

सोमबार पार्टी कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उनले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको स्पष्ट पारे । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको बताए ।

नयाँ महामन्त्री आउने बित्तिकै सबै समस्या एकैपटक हल नहुने उनले स्पष्ट पारे । उनले भने, ‘भातृ संस्थाका समस्याहरु छन् । नयाँ आएका महामन्त्री कहाँ छन ? के छ ? हाम्रो बारेमा के सोचिरहेका छन ? भन्ने कुराहरु सामाजिक सन्जालमा समेत आइरहेका छन । तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै विरामीहरुको समस्या एकैचोटी समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो नेचरको बारेमा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ताहरु दिएको मान्छे हुँ । अहिले पनि म महामन्त्री भएपनि धेरै बोलेको छैन । बोल्नेवाला पनि छैन ।’

लोकतान्त्रिकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्ने नेता शर्माले स्पष्ट पारे । उनले भने, ‘खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ । भातृ संस्थाहरुको बारेमा किन पनि जोड छ भने यो संगठनहरु बलियो बन्नु भनेको तपाईहरुको लागि होईन् । यो त नेशनको कष्टको कुरा हो । मुख्यकुरा सोसाईटीको डमोक्राईजेशन गर्न सकियो, व्यूरोक्रेसीको सकियो । मान्छेलाई लोकतान्त्रिकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्छ । र त्यसका लागि नेविसंघ नमूना संगठन बन्नुपर्छ ।’

उनले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताए । विद्यार्थी नेताहरुले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया