बुधबार, जेठ २, २०८१

गाँजा बिक्री केन्द्रको ‘भिजिटिङ कार्ड’

सुनील उलक २०७८ माघ १८ गते १२:४६

बैतडीको ग्रामीण क्षेत्रबाट पैसा कमाउने आकांक्षा बोकेर २०२३ सालमा काठमाडौं छिरेका देवीदत्त शर्माको होटेल तथा गाँजा बिक्री केन्द्रको भिजिटिङ कार्ड हो यो । सरकार तथा पुलिसमा समेत राम्रो पहुँच बनाएका देवीदत्त शर्माले इडन होटेललाई नै हाँसिस सेन्टर बनाएका थिए । उनको गाँजा सेन्टरबाट गाँजा विदेश पनि निर्यात हुन्थ्यो भने गाँजा सेवन गर्ने उद्देश्य नै बोकेर उनको होटेल आउने हिप्पीको पनि संख्या निकै धेरै थियो । त्यतिबेला विदेशीका लागि ठमेलमा कुनै अस्तित्व नै थिएन । हनुमानढोकानजिकै रहेको झोंछे नै विदेशीहरुको अड्डा थियो । गाँजा तानेर बस्ने सन्कीहरुको थलो भएकाले यो ठाउँको नाम नै Freak Street रहन गएको थियो ।

अमेरिकामा हिप्पी संस्कृतिको सुरुवातले पनि नेपालको गाँजालाई प्राथमिकता दिएको देखिन्थ्यो । नेपालमा हिप्पीको प्रवेश अत्यधिक हुँदै गयो । हिप्पीहरुका लागि नेपाल स्वर्ग बन्दै गएको थियो । हिप्पीको संख्या अमेरिकामा बढ्दै जानु, भियतनाम युद्धको विरोधको आवाज अमेरिकी युवामा बढ्दै जानु, भियतनाम युद्धमा रहेका अमेरिकी सैनिकहरुमा निराशाभाव बढ्दै गाँजा सेवनको लत बढ्नु, जसले गर्दा भियतनाम युद्धमा अमेरिकाको हारको सम्भावना बढ्दै जानु यी यावत् कुराले अमेरिकी सरकार गाँजामाथि कडाइ गर्न थालेको थियो । नेपालमाथि पनि गाँजामा प्रतिबन्धको लागी दबाबहरु आउन थालेको थियो ।

अमेरिकी सरकारको दबाबमा २०३० को साउन १ गतेबाट प्रतिबन्ध लाग्ने सूचना सार्वजनिक भइसकेको थियो । तर अफसोस त्यसको एक साताअगाडि असार २५ गते सिंहदरबारमा भएको आगलागीले गाँजा प्रतिबन्धको योजना सफल भएन । सिंहदरबार मर्मतका लागि २१ हजार रुपैयाँ सहयोग गरेका देवीदत्तको व्यापार त्यसपछि निरन्तर कायम रह्यो । २०३३ सालमा बल्ल प्रतिबन्ध लाग्यो ।

यसको प्रतिबन्धसँगै नेपालमा आउने पर्यटकहरुको संख्यामा निकै गिरावट आयो । प्रतिबन्धसँगै देवीदत्त शर्माको दिन पनि बिग्रँदै गयो । कुनै बेला काठमाडौंको सबैभन्दा अग्लो घर जहाँ होटन इडन खोलेका थिए त्यसका मालिक देवीदत्त शर्मामाथि पुलिस प्रशासनको दैनिकजसो छापा परिरह्यो । अन्तत: भागेर दिल्ली पुगेका उनी नेपाल फर्कनै सकेनन् । अन्तत उनको दिल्लीमै २०६५ सालतिर हृदयाघातबाट निधन भयो ।

एक समयका नेपालको पर्यटन व्यवसायका सबैभन्दा शक्तिशाली तथा नेपालमा गाँजा व्यवसायका राजा नै बनेका उनको पतन त भयो । तर अहिले औषधिका रुपमा समेत प्रयोग हुने गाँजा नेपाललाई प्रतिबन्ध लगाउन दबाब दिने अमेरिकाको कतिपय राज्यमा खुला गरिसकेको अवस्थामा पनि नेपाल सरकार अझै पनि उही पुरानो कानुनमा अल्झेको छ ।

प्रतिक्रिया