बिहीबार, वैशाख १३, २०८१

अख्तियारको आँट र उम्किएका ‘ठूला माछा’

अम्बिका शर्मा २०७६ फागुन १ गते ८:०४

लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा एउटा भनाइ चर्चामा आयो, ‘ठूला माछा खोइ समातेको ?’ लोकमानले साना माछा तर्साए, ठूलाका ओतमा आफू सुते । ठूला समात्छु भन्न छाडेनन् । समात्न कहिल्यै हिम्मत देखाएनन्। कतिलाई तर्साए । उल्टै द्रव्यलाभ गर्दै चोख्याए । भुराभुरी भने निकै समातेकै हुन् ।

त्यसयताका अख्तियार प्रमुख पनि ठूला माछाबाट भाग्दै आए । यसपालि धेरै माछा त समाइयो, जालबाट ठूलालाई फुत्त पोखरीमा उम्काइयो । तैपनि हालका अख्तियार प्रमुख नवीनकुमार घिमिरेले ललिता निवास प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा हाल्ने ठूलो हिम्मत गरेका छन् । त्यसलाई मान्नै पर्छ । अख्तियारले माघ २८ गते स्थापना दिवस मनाएको छ । त्यसको पूर्वसन्ध्यामा तागत देखाउन जुन ठूलो काण्ड अदालत लगियो, प्रशंसनीय रह्यो । ललिता निवास प्रकरण अहिलेको विषय होइन । बिसं २०२१ मा कानुन बनाएर राणा शासक खलकका सम्पत्ति सरकारीकरण गरिएको थियो । त्यसमा सुवर्ण समशेर खलकको २०० रोपनी परेको थियो ।

सुवर्ण समशेर प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए । त्यही भएर २०४९ मा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मन्त्रिपरिषद्बाट निर्णय गराए– प्रजातान्त्रिक आन्दोलनमा लागेका राणाका सम्पत्ति सरकारीकरण गरिएको भए फिर्ता दिने । त्यसमा परे जम्मा सुवर्ण समशेर । उनको ११४ रोपनी फिर्ता भयो ।

त्यही नियमलाई आधार मानेर ‘प्रजातान्त्रिक आन्दोलनमा लागेको देखाउँदै बाँकीका जग्गा फिर्ता गराउन भूमाफिया सक्रिय भए । मिलिभगतमा पटक–पटक गरी सबै जग्गा व्यक्तिका नाममा पुगे । त्यसमा राजनीतिक शक्ति, उच्च कर्मचारी, भू-माफिया, जग्गा दलाल सबै लागे । त्यसमा सफल भए, जुन यतिका वर्ष कसैको चासोमा परेन ।

बल्ल यतिबेला अख्तियारले त्यसमा संलग्नलाई अदालतमा उभ्याउने आँट गरेको छ । अख्तियारले जे गर्यो हिम्मतका साथ गर्यो । जे गर्न सकेन, हिम्मत पुगेन, गरेन । जति गर्यो, ठूलो गर्यो। जति छोड्यो, त्यो पनि ठूलै छोड्यो ।

देशमा भ्रष्टाचार मौलाउँदो छ । अझ भन्नुपर्दा भ्रष्टाचारको मूल फुटेको छ । थुन्ने/छेक्ने कोही छैन । धारा प्रवाह बगिरहेको छ । सुब्बासाबहरू करोडपति छन् यो देशमा । कार्यालय सहयोगीले अथाहा कमाएका छन् । राष्ट्र सेवकका नाममा देश लुट्ने काम भइरहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१९ को भ्रष्टाचार इन्डेक्समा १८० मुलुकको १३१ औं स्थानमा नेपाल छ । गत वर्षभन्दा १ स्थान तलचाहिँ झरेको छ । गत वर्ष १३० औं नम्बरमा थियो । नेपाल, इरान, काजखास्तान, रसिया र युक्रेनले बराबर २९ नम्बर ल्याएका छन् । पूर्णांक १०० मा डेनमार्क र न्युजिल्यान्डले ९०/९० नम्बर ल्याएका छन् । त्यसपछि फिनल्यान्ड ८०, स्विडेन ८८ र स्वीजरल्यान्ड ८६ अंक ल्याउन सफल भएका छन् । तिनमा भ्रष्टाचार अति नगण्य छ ।

सोमालिया सबैभन्दा भ्रष्ट मुलुक बनेको छ, जसको अंक जम्मा १९ छ । दक्षिण एसियामा नेपालभन्दा भ्रष्ट मुलुकमा बंगलादेश र अफगानिस्तान छन् । तिनको अंक क्रमशः २६ र १५ छ । सार्कको सबैभन्दा कम भ्रष्ट मुलुकमा भूटान पर्छ । उसले ६६ अंक पाएको छ । त्यसपछि भारत ४०, श्रीलंका ३६ र पाकिस्तान ३२ छन् ।

वर्तमान सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताका कुरा गर्दै आएका छन् । समृद्ध नेपाल बनाउन भ्रष्टाचार उन्मूलन नितान्त आवश्यक छ । त्यसका लागि शून्य सहनशीलता मात्र होइन, कठोरता अपनाउन सक्नुपर्छ । भ्रष्टाचार गर्नेलाई दिइने सजाय अपर्याप्त छ । देशको करोडौं कुम्ल्याएको व्यक्ति केही वर्ष जेलमा बसेर छुट्छ । अख्तियारले पनि साना माछा, भ्यागुता, भुसुना थुपारेर ठूला माछालाई उम्काउनु हुँदैन । जबसम्म ठूला माछा पर्दैनन्, तबसम्म भ्रष्टाचार ज्युँका त्युँ रहनेछ ।

प्रतिक्रिया