‘जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक भएन’

नेपालखोज २०७८ माघ १८ गते १६:१०

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको १२औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद् एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद् प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहेअनुसार जनगणना नभएको उल्लेख गर्दै पुनःगणना गर्नसमेत माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे । उनले काठमाडौंमा सधैं माईग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घटने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूले बुझ्न नसकेको बताए ।

कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरिन् । उनले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ ? भनि केन्द्रिय तथ्यांक विभागलाई प्रश्न गरेकी छन् । सांसद राईले गणकहरुलाई घरघरमा पु¥याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाइन् ।

यता, केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताएका छन् । उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराएका छन् । महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नजिताको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको पनि बताएका छन् ।

प्रतिक्रिया