कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साताभित्र बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक यही हप्ताभित्र बस्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ताभित्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भईरहेको बताए ।
उनले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्न पार्टीका महामन्त्रीहरुले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहेको जानकारी समेत दिए ।
उपसभापति गुरुङले पार्टीका तत्कालीन केन्द्रिय सदस्य एनपी साउँद नेतृत्वको टोलीले भातृ संस्थाहरुको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि गहन छलफल गरेर सबै भातृ संस्थाहरुलाई गतिशील बनाउने गरी त्यसका महाधिवेशनलगायतका कामहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कांग्रेस नेतृत्वमाथि पार्टीको विधान र संघीयताको भावनाअनुसार भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेको आरोप छ । जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ । उपसभापति गुरुङले नेविसंघलगायतका भातृ संस्थाहरुको माग सम्बोधन गर्न पार्टी गम्भिर भएको बताए ।

प्रतिक्रिया