मंगलबार, जेठ १, २०८१

वाग्मती प्रदेश सरकारले रक्त–तत्त्व नि:शुल्क गरेसँगै रक्तदाता समाजको बधाई

नेपालखोज २०७८ माघ १९ गते १८:५१

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले वाग्मती प्रदेश सरकारको प्रशंसा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै रक्तदाता समाजले वाग्मतीले रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूका लागि कुनै पनि शुल्क नलाग्ने निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिएको हो ।

वाग्मती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपन्न नागरिक र आकस्मिक उपचारार्थ अस्पताल भर्ना भएका बिरामीहरूले रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूका लागि कुनै पनि शुल्क तिर्न नपर्ने निर्णय गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘आफूहरूले व्यक्तिगत वा संस्थागतरूपमा होस् बिगत तीन दशक अघिदेखि उठाउँदै आएको मागलाई वाग्मती प्रदेश सरकारले आंशिक रुपमा पूरा गरेको निर्णयले स्वयंसेवी रक्तदाताहरू र स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको इज्जत एवं सम्मान गरिएको ठहर भएको छ ।’

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जारी गरेको विज्ञप्तिमा हालका लागि वाग्मतीको निर्णय एक हिसावले सुखद् कुरा नै रहेको उल्लेख गरे । उनले भने, ‘तर स्वयंसेवी रक्तदातहरूले दान गरेको रगत सबैले पूर्ण रुपमा नि शुल्क हुनुपर्छ भनेका छौं । अहिले विपन्न र आकस्मिक सेवाकालाई निःशुल्क भनिएको रहेछ । यसलाई छिट्टै सबैका लागि लागु गर्नुपर्छ र सर्वत्र अन्य प्रदेश सरकार अथवा केन्द्र सरकारले नै देशभर उपचारार्थ बिरामीहरूका लागि आवश्यक रगत र रगतबाट तयार पारिएका रक्त–तत्त्वहरूको पूर्णत निःशुल्क बितरणको योजना अबिलम्ब लागु गर्न बिलम्ब गर्नु भएन ।’

प्रतिक्रिया