शुक्रबार, वैशाख १४, २०८१

‘काठमाडौं मागी खानेहरुको शहर होइन, गरिखानेको हो भनेर चिनाऔं’ – विद्यासुन्दर शाक्य

नेपालखोज २०७७ कार्तिक १९ गते १४:२१

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वस्थ जीवनप्रति संवेदनशील रहेको बताएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्ने आफ्नो मान्यता रहेको बताए ।

महानगरपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ गरी उनीहरुकै कथा–व्यथा बेचेर विश्वमै ऐतिहासिक र साँस्कृतिक शहरका रुपमा परिचित काठमाडौँ मागिखानेहरुको शहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने महानगरको चाहना रहेको प्रमुख शाक्यले बताए । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाडौं महानगरपालिकाको कुनै वैरभाव नरहेको प्रस्ट पार्दै कोभिड–१९का कारण प्रभावित भएका महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने आम नागरिकलाई काठमाडौँ महानगरपालिकाले शुरुदेखि नै सहयोग गर्दै आइरहेको स्मरणसमेत गराएका छन् ।

‘असहायलाई खाना खुवाउने कार्यमा हाम्रो कुनै वैरभाव छैन’

समस्यामा परेका श्रमिक, गरिब र असहायलाई विभिन्न संघसंस्था तथा व्यक्तिका तर्फबाट खाना खुवाउने कार्यलाई बन्द गराएको भन्दै आफ्नो आलोचना भइरहेको अवस्थामा महानगर प्रमुख शाक्यले प्रेस विज्ञप्तिमार्फत सफाइ दिएका हुन् । उनले लकडाउन अवधिभर खान नपाउने, बेरोजगार, अशक्त र असहायलाई काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामार्फत ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने मूल नाराका साथ राहत वितरण र खाना खुवाउने कार्य गरेको पनि स्मरण गराएका छन् । सो अवधिमा मात्रै काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गरेको प्रमुख शाक्यले दावी गरे ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी हुनुहुन्छ भने उहाँहरूले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिवद्ध छ,’ ।

विज्ञप्ती अगाडि भनिएको छ, ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थकर र पेटभरी खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न ।’

काठमाडौँका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्डसमेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको उल्लेख गर्दै उनले कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक नहुने जनाएका छन् ।

स्वास्थ्य मापदण्डलाई समेत ध्यानमा राखी सुरक्षितपूर्वक असल हेतुले त्यस्ता नागरिकलाई खाना खुवाउने कार्यमा काठमाडौँ महानगरपालिका विगतका दिनमा सक्रिय रहँदै आएको र आगामी दिनमा पनि सहकार्य गर्न तयार रहने उनको भनाइ छ ।

‘जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु ।’ त्यसका लागि आवश्यक सहयोग गर्न काठमाडौँ महानगरपालिका तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया