‘गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भू-राजनीतिक प्रतिस्पर्धाको विषय बनाए’

नेपालखोज २०७८ माघ १९ गते २१:०५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसी परियोजनालाई भू-राजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका छन् ।

आज राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताएका हुन् ।

सत्तामा रहेका नेताहरुले एमसीसीमार्फत् भूराजनीतिक द्वन्द निम्त्याइरहेको उनले आरोप लगाए । एमसीसी एउटा विकास परियोजना मात्रै भएको उनले उल्लेख गरे । उपमहासचिव ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पारे ।

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए । स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने पनि उनले स्पष्ट पारे । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको धारणा राखे । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानूनी व्यवस्था संविधानले दिएको भएपनि एमालेले त्यसो गर्न नसकेको उनले बताए ।

संसदको गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उनले जोड दिए । नेता रिजालले वर्तमान सत्ता गठबन्धनसँग जिवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको बताए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान ट्रयाक बाहिर गएको भन्दै संविधानलाई ट्रयाकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको बताए ।

प्रतिक्रिया