देशका धेरै स्थानमा मेघ गर्जन, चटयाङसहित वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७८ माघ २० गते ६:२२

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं. १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भू-भागमा आंशिक बदली रहेको विभागले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र वाग्मती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागहरुका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे विभागले उल्लेख गरेकाे छ ।

साथै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा वाग्मती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने, देशका धेरै स्थानहरुमा मेघ गर्जन र चटयाङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया