१४ जिल्लाका सीडीओलाई गृहमन्त्रीको फोन ! के–के कुरा भयो ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका सीडीओसँग टेलिफोनमार्फत जानकारी लिए ।
गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका हुन् । फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिए । साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर समेत उनले जानकारी लिए ।
उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गरे । त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरे ।
कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताए । पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैंले फोन गर्दा काम गर्ने हौसला मिलेको बताए ।

प्रतिक्रिया