दिनकर नेपाल कांग्रेसमा !

काठमाडौं । विवेकशील साझा पार्टीमा सक्रिय रहँदै आएका दिनकर नेपाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपालले एक विज्ञप्तिमार्फत भनेका छन्- विगत केही समयदेखि सक्रिय राजनितीमा लाग्ने मेरो ध्येय मैले प्रस्ट पार्दै आएको छु । यस सन्दर्भमा धेरै मनन् र सर-सल्लाहपछि मैले आफ्नो राजनीतिक यात्रा नेपाली कांग्रेस पार्टीसँग आबद्ध भएर अगाडि बढाउने निर्णय गरेको छु ।
लोकतान्त्रिक आदर्शमा टेकेर आधुनिक समय सुहाउँदो सामाजिक न्यायका लागि लडाइँमा राजनीतिक माध्यम नेपाली कांग्रेस पार्टी बन्न सक्छ भन्ने मलाई विश्वास भएको छ । बीपीका विचार र आदर्शहरुबाट सिञ्चित र लाखौं सुझबुझयुक्त योद्धाहरुको योगदानले नेपालको सबैभन्दा ठूलो र सम्भवतः एकमात्र लोकतान्त्रिक शक्तिका रूपमा स्थापित नेपाली कांग्रेससँग जोडिन पाउनु सधैं मेरो अहोभाग्य ठानेर त्यहीअनुरुप समाजसेवाको भावनामा समर्पित रहनेछु ।
विगतका मेरा व्यक्तिगत सम्प्रेषण, अठोट र निर्णयहरुको बुझाइमा आदर्श, ध्येय र सिद्धान्तमा सम्झौता नहुने गरी आवश्यक परिमार्जनलाई स्वाभाविक रूपमा लिनुहुनेछ भन्ने सबै शुभचिन्तकहरुबाट अपेक्षा छ । सधैंझैं, मेरा अनेकौं कमी-कमजोरीहरुका लागि विनम्रतासाथ माफी माग्दै यो ठूलो परिवारमा आफूलाई जिम्मेवार सदस्य बनाउने प्रयत्न गर्नेछु ।

प्रतिक्रिया