सभामुखलाई हटाउँदा राम्रो हुन्छ, कांग्रेसले महाभियोग ल्याए साथ दिन्छौं : टोपबहादुर रायमाझी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले आफूहरु सभामुख हटाउनुपर्ने पक्षमा रहेको पनि बताए ।
रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताएका छन् । उनले भने, ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन ।’
आफूहरुले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरुसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन् । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं ।’
रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘एमाले आफ्ना एजेण्डा लिएर जनताको बीचमा जान्छ । त्यसकारण एमालेलाई तत्काल कुनै पार्टीको साथ र सहारा चाहिँदैन् । नेपाली जनताको समर्थन र सहारा चाहिएको छ । जनताको माहोल अहिले एमालेतिर छ । एमाले इतिहासमा चाहे त्यो राजाविरोधी आन्दोलन होस वा पञ्चायतविरोधी, बुहदल ल्याउन होस वा गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेको पार्टी हो । शान्ति प्रक्रिया र संविधान निर्माणमा एमालेको महत्वपूर्ण भूमिका छ ।
उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तिव्र विकास भइरहेको दाबी गरे । उनले भने, ‘नयाँ संविधान बनेपछि एमाले अथवा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले विकास र समृद्धिका अभियान तिव्र रुपमा अघि बढाएको थियो, विकास निर्माणका काम अहिलेपनि अघि बढिरहेका छन् । राष्ट्रियता, सामाजिक सुरक्षा र न्यायको पक्षमा एमाले अग्रपँक्तिमा उभिएको छ । यो कारणले हामीलाई जनताले ठूलो समर्थन जनाएका छन् ।’
उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘एमाले यतिवेला परमादेशको कारण प्रतिपक्षमा छ । एमालेविरोधीहरुले महागठबन्धन बनाउने काम गरेका छन् । प्रतिपक्षीको विरोधमा सरकार पक्षकाले महागठबन्धन बनाएका छन् । उनीहरु अब पराजित मानसिकतामा छन् । एमालेले जित्छ त्यसैले गठबन्धन गर्नुपर्छ भनेर उनीहरुले भनेका छन् । उनीहरुलाई जनताको समर्थन छैन् । यो गठबन्धन लोभी–पापीहरुको झुण्ड हो । केपी ओलीको नेतृत्वको सरकारको पालामा विकास र समृद्धिको अभियान तिव्र रुपमा अघि बढिरहेको थियो, तर अहिलेको सरकार आएपछि अर्थतन्त्र धरायशी भएको छ । जताततै खिचलो भएको छ । संकटको घडीमा पनि ओली सरकारले राम्रो काम गरेको थियो । तर, अहिलेको सरकारले केही काम गरेको छैन् । जनता अत्यन्तै निराश छन् ।’
रायमाझीले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे । उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । एमसीसीको सवालमा यो महागठबन्धनले पहिले टुँगो लगाओस् । संसद्मा टेबुल भएपछि हामी सोच्छौं । अहिले हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन् । प्रधानमन्त्री शेरहादुर देउवाले एमसीसी संसद्मा पेश गर्नुपर्छ ।’

प्रतिक्रिया