तानाशाहीविरुद्ध लोकतान्त्रिक नेताहरु सक्रिय हुनुपर्यो : एचआरडब्ल्यू

काठमाडौं । ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केनेथ रोथले समाचार एजेन्सी एएफपीलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्- लोकतान्त्रिक मूल्य तथा अधिकारहरुको रक्षामा लोकतान्त्रिक नेताहरुको विफलताले संसारभर निरंकुशताको बिस्तारमा सघाउ पुगिरहेको छ । रोथले कोभिड- १९ तथा जलवायु परिवर्तनजस्ता चुनौतीसँग जुध्न लोकतान्त्रिक रूपले चुनिएका नेताहरुले साहसी एवं सैद्धान्तिक नेतृत्व देखाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
यो मानवअधिकार संस्थाका कार्यकारी निर्देशक रोथ भन्छन्, ‘लोकतान्त्रिक शासकहरुले आवाज उठाउनु निकै महत्त्वपूर्ण छ अन्यथा संसारमा निराशा र अशान्ति फैलनेछ भने तानाशाहहरुलाई बढावा मिल्नेछ अनि आमजनतालाई पनि लाग्नेछ कि संसारमा निरंकुशता बढिरहेको छ ।
संसारभर अधिकार हनन
संसारभर भएका मानव अधिकार हननमा एचआरडब्ल्यूले ७५० भन्दा बढी पृष्ठको वार्षिक रिपोर्ट जारी गरेको छ जसमा चीन, रूस, बेलारूस, मिश्र आदि देशमा असन्तुष्टहरुको आवाज दबाउन गरिएको कारबाहीको विवरण दिइएको छ । रिपोर्टमा म्यानमार तथा सुडानसमेत संसारभर भएका सैन्य ‘कू’का बारेमा पनि उल्लेख गरिएको छ ।
रिपोर्टमा ती देशका घटना पनि उल्लेख छ जसलाई कुनै समय लोकतान्त्रिक मानिन्थ्यो वा तिनीहरु अहिले पनि आफूलाई लोकतान्त्रिक नै भन्छन् । यद्यपि यो रिपोर्टमा बितेका केही वर्षयता निरंकुश प्रवृत्ति देखाउने नेताहरुको व्यवहार पनि उजागर गरिएको छ । यसमा हंगेरी, पोल्यान्ड, ब्राजिल, भारत तथा अघिल्लो वर्षसम्मको अमेरिकी नेतृत्व सामेल छन् ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प तथा उनका सहयोगीहरुले २०२० को निर्वाचन परिणाम उल्टाउने विफल प्रयास गरे । रोथ भन्छन्- अमेरिकी लोकतन्त्रलाई आज पनि स्पष्ट रूपले चुनौती दिइँदै छ । उनले भनेका छन्- ६ जनवरी २०२१ मा क्यापिटल हिलमा ट्रम्प समर्थकहरुद्वारा भएको हिंसा वास्तवमा एउटा सुरुवात मात्र थियो । रोथले अमेरिकामा लोकतन्त्रको रक्षा तत्काल आवश्यक भएकोसमेत बताएका छन् ।
तानाशाहहरुलाई चुनौती देऊ
रोथले संसारमा तानाशाही बढिरहेको र कैंयन् ठाउँमा लोकतन्त्रको पतन भइरहेको बताएका छन् । उनले संसारका कैंयन् तानाशाहले आफैंलाई पतनतर्फ धकेलेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्- नजरबन्द गरिने वा गोली ठोक्ने धम्कीका बाबजुद संसारले म्यानमार तथा सुडानका जस्ता दमनकारी सैन्य शासनका विरुद्ध बोल्न छाड्नु हुँदैन, आवाज उठाइरहनुपर्छ ।
रोथ भन्छन्, ‘तिनीहरुको जोडदार प्रतिरोध हुनुपर्छ जो आफ्नो देशमा तानाशाही लाद्न वा भएको तानाशाहीलाई निरन्तरता दिन चाहन्छन् ।’ उनले भनेका छन्- रूस, हाङकङ, युगान्डा, निकारागुवाजस्ता देशले विरोधबाट छुटकारा पाउने, मिडियालाई चुप गराउने, सार्वजनिक प्रदर्शनहरुमा प्रतिबन्ध लगाउने अनेक हथकन्डा अपनाएका छन् ।
रोथ भन्छन्- भय र त्रासका बीच गराइएको चुनाव जित्न त सकिन्छ तर त्यस्तो चुनावले ती वैधता प्रदान गर्दैनन् जुन नेताहरु चाहन्छन् । उनको भनाइ छ, ‘हामी विश्वभर लोकतान्त्रिक नेताहरुप्रति केही असन्तोष पनि देखिरहेछौं, किनभने लोकतान्त्रिक समाजको महत्त्वपूर्ण पक्षलाई अहिले के लाग्न थालेको छ भने विकासको दौडमा उनीहरु पछाडि पर्न थालेका छन् ।’ रोथका अनुसार, ‘लोकतन्त्रमा सुशासन तथा मानवाधिकारको रक्षाका लागि एउटा स्पष्ट दृष्टिकोणको खाँचो छ ।’
-एएफपी
प्रतिक्रिया