शनिबार, जेठ ५, २०८१

८६० म्यानपावर कम्पनीको वर्गीकरण गरिँदै

नेपालखोज २०७८ माघ २१ गते १०:४५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्थाको वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा ‘मेनपावर कम्पनी’का प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।

वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्र वाला संस्था म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । वैदेशिक रोजगारलाई ब्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

कार्यदलले ‘म्यानपावर कम्पनी’ लाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्नेछ ।

प्रतिक्रिया