मोरङको उखुबारी र ललितुरको घर पेटीमा शव गाड्ने एकै समूह
मुख्य अभियुक्त अनिल मण्डल

काठमाडौं । प्रहरीले मोरङको उखुबारी र ललितपुरको घरको पेटीमा गाडिएको शवको हत्यारा पत्ता लगाएको छ । आज प्रहरीले पत्रकार सम्मेलन मार्फत तीनजनाको हत्या गर्ने एकै समूहका भएको रहस्य खोलेको हो ।
एक साता लामो अनुसन्धानपछि प्रहरीले तीनजना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्याका मुख्य अभियुक्त ३१ वर्षीय अनिल मण्डल रहेको प्रहरीको दाबी छ । उनी सिराहा नगरपालिका २१ स्थायी घर भई बल्खुमा बस्दै आएका थिए । कारोबारमा विवाद भएपछि उनले योजनावद्ध तरिकाले हत्या गरेको खुलेको छ ।

मण्डलले अन्य व्यक्तिहरुको समेत सहयोग लिएको पत्ता लागेको छ । जसमध्ये मोरङ जहदा गाउँपालिका ४ सिस्वनीका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम पक्राउ परेका छन् ।
हत्यामा पेशेवर अपराधीलाई पैसा दिई साथ लिइएको पत्ता लागेको छ । मण्डलले धरान घर भई भक्तपुर बस्ने राजेन्द्रकुमार श्रेष्ठ र सर्लाही घर भई काठमाडौं बस्ने शम्भुकुमार चौधरीको मोरङमा हत्या गरेको खुलेको छ । उनले दुवैलाई मोरङकै उखुबारीमा गाडेका थिए ।

ललितपुरको धापाखेलमा घर भाडामा लिएर मोहनप्रसाद लिम्बूको हत्या गरी त्यही गाडेका थिए । प्रहरीले सुरुमा श्रेष्ठ, चौधरी हुँदै लिम्बूको समेत शव निकालेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया