शुक्रबार, असार १३, २०८२

सरकारले भन्यो- खोपको अभाव छैन

नेपालखोज २०७८ माघ २१ गते १५:२५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन् ।

आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन् ।

प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराइन् । उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराइन् ।

त्यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन् । उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको छ ।

त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकतालगायतका डकुमेन्टहरु नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।

प्रतिक्रिया