मंगलबार, जेठ १, २०८१

भोलिदेखि काभ्रेमा आलोपालो सेवा

नेपालखोज २०७८ माघ २२ गते ८:३३

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले भोलि (आइतबार) देखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई साता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा नियमित गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य-सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड-१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मंगलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ । यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, बिहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ ।

महाभारत गाउँपालिकाका लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ । सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, काभ्रेमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमणदर दैनिक घटिरहेको तथ्यांकले देखाएको छ । जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)का अनुसार पछिल्लो चौबीस घण्टामा जिल्लामा १४ जनामा सङ्क्रमण देखिएको छ । १४६ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोनाका सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म १७ हजार ३८४ मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ९६ दशमलव ५६ प्रतिशत अर्थात् १६ हजार ७८६ सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया