पत्रकारलाई धम्की दिने दुर्गा प्रसाईलाई कारबाही गर्न महासंघको माग

काठमाडौं । पत्रकारलाई धम्की नदिन नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई चेतावनी दिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारलाई नै धम्की दिएका थिए ।
मर्यादामा बस्न महासंघले प्रसाईलाई आग्रह गरेको हो । विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलनको आयोजना गरी सिंगो पत्रकारितामाथि तथानाम गालीगलौज गर्दै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ नं १ प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको कार्यप्रति खेद जनाउँदै दोषी उपर कारवाहीका लागि प्रदेश समितिले माग गरेको छ । प्रेस स्वतन्त्रता बिरोधी यस्ता हर्कत नदोहोर्याउन महासंघले चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने गरी धम्की दिनेलाई कानुनी कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउन र सहज रुपमा पत्रकारिता गर्ने वातावरण तयार गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षलाई महासंघ चेतावनी दिन चाहान्छ ।’


प्रतिक्रिया