तोकेको समयमा स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका हुन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौंतारी नेपालको २४औं स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रीमानहरुले बनाएको वर्तमान सरकारले संविधान र कानुन उल्लंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुन विपरित काम गरे सञ्चार माध्यामहरुले पनि विरोध गर्नुपर्ने बताए । उनले पार्टी निकट सञ्चारकर्मीहरुलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पुर्याउने काममा केन्द्रित हुन आग्रह गरे ।

प्रतिक्रिया