श्री ५ को वायु गुठीको नाममा भएको राज्य आतंक बन्द गर्न माग

काठमाडौं। श्री ५ को वायु गुठी समस्या समाधान सघंर्ष समिति धादिङ–गोरखाले धादिङ र गोरखा जिल्लाका करिब तीन हजार ५ सय घरधुरीका स्थानीयहरुको गुठी समस्या तत्काल समाधानका गर्न सरकारसमक्ष माग गरेको छ । समितिले ‘बा जग्गाधनी, छोरा मोही’, हाम्रो जग्गामाथिको अधिकार खोई’, ‘श्री ५ को वायु गुठीको नाममा भएको राज्य आंतक बन्द गर, सम्पत्तिमाथिको मौलिक हक कायम गर’लगायतका नारा अघि सारेको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामार्फत समितिले सरकारले तत्काल मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर समस्या समाधान गर्न आग्रह गरेको हो । साथै, समस्या समाधान नभए आफूहरु सरकारलाई नागरिकता बुझाउनसमेत पछि नपर्ने समितिले चेतावती दिएको छ ।
कार्यक्रममा बोल्दै गुठी संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले सरकारको दमन गर्ने नीतिको विरुद्धमा आफुहरु निरन्तर लागिरहने बताए । ‘जनताको स्वामित्वमा रहेको घर/बारीलाई श्री ५ को वायु गुठी नापीबाट रैथानको पूर्जि दिएको छ । त्यस रैथानको पूर्जालाई पनि अन्धो सरकारले हचुवाको भरमा कुनै निकायमा नसोधेर मोही भनेको छ । यो कुरा हामीलाई मान्य हुनेछैन्,’ उनले भने ।उनले जग्गाधनी बाबुको छोरा कसरी मोही हुन्छ ? भन्दै प्रश्न गरे । आफुहरुले निरन्तररुपमा नापी विभाग र भूमीसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएर समस्या सुनाएपनि सम्बन्धित निकायले यसमा बेवास्ता गरेको गुनासो गरे ।

त्यस्तै, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले आफुले आफ्नो ठाउँबाट उक्त समस्याको समाधान लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले जनताको सम्पत्ति उसको स्वामित्व छ, अथवा छैन् भन्ने कुरामा सरकारले ध्यान दिन जरुरी रहेको पनि धारणा राखे । एनले भने, ‘जनताले भोगचलन गरिरहेको छ । तर, श्री ५ सरकारको वायु गुठी लेखिनु विडम्बना हो । यसको समाधान गर्न सबै पार्टीको साथ र सहयोग हुनुपर्छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राप्रपाका युवा नेता पर्शुराम तामाङले आफू समितिले अघि सारेका मागप्रति गम्भीर रहेको बताउँदै समस्या समाधानको लागि सहयोग गर्ने बताए । उनले धादिङ जिल्लाको राप्रपा पार्टीको तर्फबाट उक्त समस्याको समाधान गर्न आफुहरु नेतृत्व गर्न पनि तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै गुठी संस्थानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले उक्त समस्या समाधानको लागि आफुले धेरै प्रयत्न गरेको स्मरण गर्दै गुठी ऐनलाई परिमार्जन नगरेसम्म अहिलेको समस्या समाधान नहुने धारणा राखे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रस्तुत गरिएका गुठी विधेयक पास भएको भए आजको समस्याको समाधान भैसक्ने थियो भन्ने पनि धारणा राखे ।

निलकण्ठ–११ का वडा अध्यक्ष तिलक थापाले आफुहरु गुठी संस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको गुनासो गरे । उनले समस्याको समाधान नभए आफुहरु स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने कठोर निर्णयसम्म पुग्नुपर्ने धारणा राखे ।

समितिका सदस्य नबराज लम्सालले पञ्चायतकालमा समेत जग्गाका मालिक भएका जनता आज मोही हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको बताए । उनले समस्याको समाधान गर्न मन्त्रीपरिषदमा लगेर निर्णय गराउनुपर्ने धारणा व्यक्त गरे ।
नेत्रावती डोबजोङ गाउँपालीकाका अध्यक्ष दुर्गानारायण शाक्यले गाउँपालिको तर्फबाट आफुले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । साथै, उनले पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर यसको समाधान गर्न सबैजना लाग्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया