के छ देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई पठाएको पत्रमा ? (पत्रसहित)

काठमाडौं । गत १३ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र लेखेर संघीय संसद्बाट पारित गराउने लिखित प्रतिबद्धता जनाएको खुलासा भएको छ । दुई नेताले पार्टी कार्यकर्तालाई एमसीसीका बारेमा बुझाउनेदेखि गठबन्धन आबद्ध दलले संयुक्त पत्रकार सम्मेलन गरेर प्रस्टाउने सम्मका बुँदा उल्लेख गरे ।
एमसीसीलाई पारित गराउनका लागि चारदेखि पाँच महिना आवश्यक रहेको पत्रमा बताइएको छ । देउवा र प्रचण्डले संसद्बाट सम्झौता पारित गराउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई अविलम्ब आग्रह गर्ने प्रतिबद्धतासमेत उल्लेख गरेर उक्त पत्र पठाइएको छ ।
पत्रमा एमसीसी बोर्ड उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका क्रममा एमसीसीबारे विस्तृत रूपमा छलफल गरेको र संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएको पत्रमा भनिएको छ । यसलाई अनुमोदन गर्नेतर्फ नवगठित गठबन्धन सरकारले सबै प्रयत्न गरिरहेको बताइएको छ ।
नेपाल सरकार एमसीसी अनुदानको पक्षमा रहेको र यसलाई नेपालको आर्थिक विकासमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउने प्रयास गरिएको छ । एमसीसी पारित गर्न पार्टीका सदस्यहरूलाई राम्रोसँग बुझाउन एमसीसीबाट प्राप्त प्रस्टीकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने, सम्झौता कार्यान्वयन, यसबारे गलत बुझाई र आशङ्का हटाउन नेपाली जनतासँग सार्वजनिक रूपमा सञ्चार गर्न नेपाल सरकारको स्रोत साधनको उपयोग गर्ने पत्रमा उल्लेख छ ।
एमसीसी अनुमोदनमा सरकारको सकारात्मक धारणा देखाउन गठबन्धन सरकारका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने, सरकारी सञ्चार माध्यमद्वारा सम्झौताबारे वास्तविक सूचना प्रदान गर्ने, सम्झौता चाँडो कार्यान्वयनका लागि प्राविधिक र सञ्चार गतिविधि पूरा गर्न एमसीसी नेपाललाई प्रोत्साहन गर्ने र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सभामुखलाई चाँडो टेबुल गर्न संयुक्तरुपमा आग्रह गर्ने पनि बताइएको छ ।



प्रतिक्रिया