बालुवाटारमा देउवा, ओली र प्रचण्ड भेट : के विषयमा हुँदै छ छलफल ?

नेपालखोज २०७८ माघ २३ गते १७:१५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । आजको भेटमा सत्ता गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी भएका छन् ।

बैठकमा निर्वाचनबारे छलफल हुँदै छ । एमसीसीको विषयमा पनि घनिभूत छलफल हुने बताइएको छ । अध्यक्ष ओली असार ३० पछि पहिलोपटक बालुवाटार जानुले पनि आजको बैठक विशेष रहेको बताइएको छ । नेकपा विघटन भएपछि एकै बैठकमा ओली र प्रचण्ड पनि सहभागी भए ।

एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्रीले अध्यक्ष ओलीसँग भेट्न चाहेका थिए । एमसीसीलाई राष्ट्रिय सहमति जुटाएर अनुमोदन गर्ने देउवा र प्रचण्डको प्रतिवद्धता पत्र सार्वजनिक भएपछि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आजै एमसीसीबारे ठोस निर्णयमा पुग्न सक्ने बताइएको छ । साझा धारणा बनाउन संसद्का तीन ठूला दल छलफलमा बसेका हुन् ।

तीन दल मिले एमसीसी दुई तिहाइसहित संसद्बाट पास हुन सक्छ । देउवा जसरी पनि एमसीसी पास गरेर छाड्ने पक्षमा अडिग रहेका छन् । उनले एमसीसीको लागि जस्तोसुकै सम्झौता गर्न सक्ने बुझिएको छ । उनले एमसीसी पास नभए सत्ता गठबन्धन टुट्न सक्ने चेतावनी दिँदै आएको बुझिएको छ ।

बैठकमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव महासचिव शंकर पोखरेल पनि सहभागी भएका छन् ।

तस्वीर : गोविन्द परियार

प्रतिक्रिया