एमसीसी संसद्मा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छ : भुवन पाठक

नेपालखोज २०७८ माघ २३ गते १८:०८

काठमाडौं । महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । आज रिपोर्टर्स क्लबमा महामन्त्री पाठकले पार्टी कुनैपनि हालतमा नफुट्ने समेत दाबी गरे ।

उनले एमसीसीका केही बुँदा विवादित रहेकाले राप्रपा विपक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, यथास्थितिमा एमसीसीबारे संसद्मा मतदान भयो भने राप्रपाले विपक्षमा मतदान गर्छ ।’

उनले कमल थापाले राखेको मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी रहेको स्पष्ट पारे । उनले भने, ‘निवर्तमान अध्यक्ष कमल थापाले केही माग राख्नुभएको छ । ती मागबारे पार्टीभित्र अनौपचारिक रुपमा छलफल जारी छ । हिजो बिहान निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भएको छ । यो आईसब्रेक भएको छ । कसरी मिलेर जाने भन्ने विषयमा उहाँहरुबीच छलफल भएको छ । अब पार्टी विभाजन हुने सम्भावना छैन ।’

पाठकले अब पार्टी एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा जाने बताएका छन् । उनले भने,‘राप्रपा फुद्दैन भन्ने आाधार त लामो समयपछि निवर्तमान अध्यक्ष थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । यो त आईसब्रेक भयो । उहाँहरुबीच सम्वाद प्रारम्भ भयो । पार्टीका सबै तह र तप्काका साथीहरुले पनि पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पक्षमा र्छौं । अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा भयो भने पार्टीको अर्जुनदृष्टि निर्वाचनमा राख्छौं ।’

पाठकले वर्तमान पाँच दलीय गठबन्धनको सरकारको ६ महिना पूरा असफल भएको बताए । उनले भने, ‘यो सरकारले ६ महिना पूरा गरेको छ । यो सरकारको विश्लेषण गर्दा हरेक पक्षमा यो सरकार असफल भएको छ । महँगी र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको छ । शान्ति सुरक्षा कायम गर्ने विषयमा पनि असफल भएको छ । रोजगारी सिर्जाना गर्न पनि असफल भएको छ । देशको आर्थिक स्थिति अहिले कमजोर छ । मुलुकको आर्थिक अवस्था अहिले डरलाग्दो मोडमा पुगेका देखिन्छ । पुँजीगत खर्च भएको छैन् । शोधान्तार घाटा बढ्दै गएको छ । विदेशी सहयोग घटेको छ । अहिले आर्थिक सूचक नकारात्मक छन् । मूल्यवृद्धि झण्डै ७ प्रतिशतदेखि कतिपय कुरामा १४–१५ प्रतिशतसम्म भएको छ । आर्थिक वृद्धि २ प्रतिशतभन्दा पनि घटेको छ। अहिले देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ ।’

उनले देश विदेशमा रहेका नेपाली श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट धानिरहेको अवस्था रहेको बताए । उनले भने, ‘अहिले त्यो पनि क्रमशः घटिरहेको छ । रेमिट्यान्स बैंकिङ च्यानलबाट आएको छैन् । सरकारले अहिलेको समस्या समाधानको लागि पहल गरेको छैन, बास्तवमा सरकार र अर्थमन्त्रीले यसको लागि प्रयास गरेको देखिएको छैन् ।’

मुलुक स्थानीय तहको निर्वाचनको संघारमा रहेको उनले बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने भनेर भनिएको छ । प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा यो कुरा आएको छ, तर औपचारिक रुपमा आएको छैन् । निर्वाचनको लागि पनि आयोगले तयारी गरिरहेको कुरा छ, कतै शंका र उपशंका छ । एमसीसीको चपेटामा यो सरकारले स्थानीय तहको निर्वाचन नगर्ने हो कि भन्ने देखिन्छ । एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ । तर, माओवादी र नेकपा (एकीकृत समाजवादी) पारित गर्ने पक्षमा छैनन् । उनीहरुले यदि एमसीसी पारित गर्ने प्रयास गरियो भने हामी विपक्षमा जान्छौं भनेको अवस्था छ । समग्रमा हेर्दा सरकारको गतिविधि सकारात्मक देखिँदैन् । यो पनि दुर्भाग्यपूर्ण छ ।’

पाठकले स्थानीय तह निर्वाचन परिचालनसम्बन्धी समितिको आफू संयोजक भएको उल्लेख गर्दै अब हुने स्थानीय तहको निर्वाचनमा पार्टीले सबै तहको निर्वाचनमा भाग लिने बताए । उनले भने, ‘निर्वाचनमा कोसँग तालमेल हुने भन्ने कुरा भविष्यको विषय हो ।’

प्रतिक्रिया