शुक्रबार, जेठ ३, २०८२

क्यानडा प्रदर्शन : ट्रक ड्राइभरका अवरोधमाझ राजधानी ओटावामा संकटकाल घोषणा

नेपालखोज २०७८ माघ २४ गते ७:४४
क्यानडा

काठमाडाैं । क्यानडाको राजधानी सहरका मेयरले कोभिड प्रतिबन्धहरू विरूद्ध ट्रक ड्राइभरहरूले गरेको प्रदर्शन एक साताभन्दा बढी समय नाघिरहंदा आपतकाल घोषणा गरेका छन् । ओटावाका मेयर जीम वाट्सनले ‘सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको’ बताए । ‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो ।

क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा ‘असंवेदनशील व्यवहार’ गरेको बताए । प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ‘पार्टीजस्तो गरेको’ आरोप लगाए । उनले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा ‘लडाई हारिरहेको’ बताए ।

वाट्सनले भने, ‘यो समाधान हुनुपर्छ । हामीले हाम्रो सहर पुरानै स्वरूपमा ल्याउनुपर्छ।’ एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको बताएका छन् ।

ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन् । मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन् । तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ ।

आपत्कालिन अवस्थाले अग्रमोर्चा र आपतकालिन सेवाका कर्मचारीहरूलाई चाहिने सामान आपुर्तिका लागि शहरलाई थप शक्तिहरू प्रदान गर्नेछ।

क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन् । बीबीसी

प्रतिक्रिया