एमसीसी फिर्ता भए प्रचण्ड र माधव जिम्मेवार : सूर्य थापा

नेपालखोज २०७८ माघ २४ गते १२:४३

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले एमसीसी मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भएको बताएका छन् । उनले आज सामाजिक सन्जालमार्फत अमेरिकी सहायता परियोजनालाई विद्रूप बनाउने काम भएको अरोप लगाए ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई जीब्रे भएको आरोप समेत लगाए । उनले प्रचण्ड राष्ट्रविरोधी भएको टिप्पणी गरे । उनले भने, ‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदानविरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन् । तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुई जीब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’

प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै उनले विभिन्न आरोप लगाएका छन् । एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल नै हुने थापाको भनाई छ । उनले भने, ‘जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुन्डले गरिरहेको छ ।’

प्रतिक्रिया