शनिबार, जेठ ५, २०८१

एक सच्चा प्रेमको अन्त्य

सुनील उलक २०७८ माघ २४ गते १५:०५

हिजो लता मंगेशकरको देहान्त भयो । धेरैलाई थाहा थियो लता आजन्म कुमारी नै रहिन् । उनको विवाह भएन । तर उनको सच्चा प्रेम र प्रेमीप्रतिको सच्चा समर्पण थोरैले मात्र थाहा पाए । आमयुवती झैं उनको पनि यौवनकालमा नै प्रेम बसेको थियो । उनको प्रेमीले पनि उनलाई साँचो प्रेम गर्दथे । तर पारिवारिक बन्धनले उनीहरुबीच विवाह हुन दिएन । र अन्तमा कठोर निर्णय लिए- यदि हामीबीच विवाह हुँदैन भने आजन्म अविवाहित नै रहनेछौं । आफ्नो जीवन अरुका लागि समर्पण गर्ने छैनौं । उनका प्रेमीले पनि प्रेमको धर्म निभाए आजन्म अविवाहित रहे । उनका प्रेमी राजसिंह डुंगरपुरको सन २००९ मा अविवाहित नै देहान्त भएको थियो ।

राजस्थानको डुंगरपुर राजपरिवारको सबैभन्दा कान्छो छोराको रुपमा जन्म लिएका राजसिंह डुंगरपुर महाराजा लक्ष्मणसिंह छोरा थिए । क्रिकेटमा निकै रुचि राख्ने डुंगरपुर भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष पनि रहे । संगीत मन पराउने डुंगरपुर र क्रिकेट मन पराउने लताबीच गहिरो प्रेम सम्बन्ध भएको थियो । लतालाई अति मन पराउने डुंगरपुर सधैं साथमा क्यासेट प्लेयर बोकेर लताका गीतहरु सुनिरहन्थे ।

लतालाई मिट्ठू नामबाट बोलाउने डुंगरपुर पनि प्राय: क्रिकेटमा व्यस्त रहन्थे । लामो प्रेमसम्बन्धपछि विवाहका लागि राजा लक्ष्मण सिंहसँग आग्रह गर्दा राजपरिवारका सदस्यको विवाह राजपरिवारका सदस्यसँग मात्र हुन्छ साधारण परिवारका सदस्यसँग हुँदैन भन्ने कठोर जवाफ पाएपछि राजसिंहले राजघरानाको विरोध गर्न सकेनन् । बरु आजन्म अविवाहित रहेर लतालाई नै प्रेम गरिरहने कसम खाए । उता लताले पनि सोही कसम खाए र आजन्म अविवाहित नै रहे ।

प्रेमी राजसिंहको आग्रहमा लताले डुंगरपुरमा सामाजिक भवन पनि बनाइदिएका थिए । आजन्म सच्चा प्रेमीको धर्म निभाउँदै सन २००९ मा राजसिंह डुंगरपुरको निधन भयो । लताले पनि आफ्नो सच्चा प्रेमलाई निभ्न दिएनन् । आजन्म कुमारी नै रहँदै हिजो फेब्रुअरी ६ मा संसारबाटै बिदा लिई प्रेमी राजसिंहलाई भेट्न गए ।

May be an image of 2 people

संरक्षणकर्मी सुनील उलकको फेसबुकबाट ।

प्रतिक्रिया