शुक्रबार, वैशाख २८, २०८१

जब हामी मुजफ्फरपुरमा समातियौं…

खिलध्वज थापा २०७९ असार २५ गते १०:४३

बिहारको मुजफ्फरपुर रेलवे स्टेसनमा हामीलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो । बिहेको लगन छोप्न विराटनगरबाट नेपालगन्ज हिँडेको दुलहा र उनको अभिभावक म यसरी पक्राउ परेपछि परेन त फसाद ?

हामी कलकत्ताबाट दिल्लीका लागि छुट्ने एक्प्रेस रेल समात्न जोगबनीबाट बसमा चढेर मुजफ्फरपुर पुगेका थियौँ । स्टेसनमा प्रवेश गरेर रेल पर्खिरहेको बेला एकाएक अन्य यात्रु कोलाहल र भागाभाग गर्न थाले । हामीले कुरा बुझ्न पनि पाएका थिएनौं, प्रहरीको एक हूल आएर हामीलाई टिकट देखाउन भन्यो । हामीले टिकट किनिसकेका थिएनौँ । हामी आफन्तहरु जोगबनीबाट बसमा आएको र यहाँबाट टिकट किन्न बाँकी रहेको बतायौँ । उनीहरुले बसको टिकट देखाउन भने । असावधानीवश बसको टिकट पनि कतै हराएछौँ । हामीले बसको टिकट देखाउन सकेनौं । त्यसपछि उनीहरुले हामीलाई समातेर एउटा लामो डोरीको घेराभित्र राखे । घेरामा अन्य ५०\६० यात्रु पनि परेका थिए । सबै माथि एउटै अभियोग थियो, बिनाटिकट यात्रा गरेको ।

भारतमा संकटकाल घोषणा गरिएको बेला थियो । नियम कानुनमा कडाइ गरिएको थियो । कानुनको पालना भएको/नभएको चेक गर्न सम्बन्धित अधिकारीलाई पनि थाहा नदिएर अचानक गरिने यस्तो कारबाहीलाई ‘मजिस्ट्रेट चेकिङ’ भनिँदो रहेछ । हामी त्यही चेकिङको फन्डामा परेका थियौँ । बिहेको लगन फेला पार्न हतार-हतार हिँडेका हाम्रो सातोपुत्लो गयो ।

मैले भैरहवाका चल्तापुर्जा पत्रकार कपुर ज्ञवालीलाई सम्झिएँ । उनी नौतनवाबाट रेल चडेर तौलिहवा जाँदा बिनाटिकट यात्रा गरेको भनेर आफ्ना मित्रमण्डलीसहित तीन महिना सश्रम काराबास परेका थिए । हाम्रो गति पनि त्यस्तै हुने त हैन ?‌

केही बेरमा हामीलाई मजिस्ट्रड जस्तो लाग्ने एकजना अधिकारीसामु पेस गर्न लाइनमा उभ्याइयो । स्टेसनकै एक छेउमा टेबल राखेर अधिकारी बसेका थिए । उनले अभियुक्तको बयान लिएर तत्कालै फैसला सुनाइरहेका थिए । हाम्रो पालो आएपछि मैले आफ्नो गुनासो सुनाएँ र झुटमुटै भने, हामी पत्रकार हौं, भोलि बिहान जसरी भए पनि दिल्लीस्थित शाही नेपाली राजदूतावास पुग्नु छ र सम्भव भएमा भोलि नै श्रीमती इन्दिरा गान्धीलाई भेट्नु छ ।

यसो भनेपछि मैले आफ्नो परिचयपत्र देखाएँ । अधिकारीले पहिले परिचयपत्र र त्यसपछि मलाई शिरदेखि पाउसम्म नियालेर हेरे । बिहेको लागि सुटबुटमा ठाँटिएका हामी मैला कुचला धोती अथवा पाइजामा लगाएका अन्य बिहारी यात्रुभन्दा पृथक देखिन्थ्यौँ । अधिकाारीले लामो सास फेर्यो र घोप्टो परेर एउटा फाराममा केही लेख्यो । हामीलाई जनही रु. ३० जरिवाना गर्ने र मुक्त गर्ने फैसला गरिएको रहेछ ।
-एक पत्रकारको बकपत्रबाट सम्पादित अंश ।

प्रतिक्रिया