स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा हुने

नेपालखोज २०७८ माघ २४ गते १६:३६

काठमाडौं । मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको नियमित बैठकले २०७९ वैशाख ३० गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको बताइएको छ । ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ । यसअघि २०७४ सालमा भने तीन चरणमा निर्वाचन भएको थियो ।

वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो ।

सत्ता गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो । निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका थिए ।

अहिले पनि गठबन्धनका केही नेताहरु भने सबै प्रतिनिधिहरुको कार्यकाल सकिएपछि मात्रै निर्वाचन गर्ने पक्षमा आफ्नो धारणा राखिरहेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने स्थानीय तहलाई जनप्रतिनिनिधि बिहिन बनाएन नहुने पक्षमा थिए । उनले स्थानीय तहको चुनाव समयमा गर्न निर्वाचन आयोगलाई सरकारमार्फत निर्देशन दिएका छन् ।

देउवाले यसअघि नै आयोगलाई तयारी अवस्थामा बस्न सुझाव दिएका थिए । उनले निार्वचनको मिति कुनै पनि समयमा सार्वजपनि हुन सक्ने भन्दै आयोगको ध्यानाकर्षण गराएका थिए । देउवाले गठबन्धनका नेतालाई मनाएर समयमा निर्वाचन गराउन भूमिका खेलेका छन् ।

May be an image of 7 people, table and indoor
तस्बिर : गोविन्द परियार ।

प्रतिक्रिया