’विदेश जानेहरुको तथ्यांक र यथार्थ विवरण सुरक्षा निकायसँग हुनुपर्छ’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।
विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको उनले बताए । उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए । संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उहाँले उनले बताए । उनले भने, ‘शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । ति जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठूलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’
गृहमन्त्री खाँणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए । अध्यागमनका गेटहरुलाई आधुनिकिकरण गर्नुपर्ने पनि उनले बताए । पछिल्लो समय भिजिट भिसामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले बताए ।
गृहमन्त्री खाँणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिए । कार्यशैलीलाई पनि तिव्र गतिमा आधुनिकिकरण गर्नुपर्ने उनले बताए । उनले भने, ‘भिजिट भिसामा जाने तर त्यहाँ गइसकेपछि भ्रमण गर्ने र फर्किने भन्दापनि त्यहाँ फेरी विभिन्न रोजगारीको खोजीमा नेपालीहरु विदेशमा भौतारिने । यसमा सम्बन्धित मन्त्रालयले पनि गम्भिरतापूर्वक कदम चालिराखेको छ । गृह, परराष्ट्र, पर्यटन र श्रम मन्त्रालयले हामीले संयुक्त रुपमा नेपालीहरुको यात्रा सुव्यवस्थित हुन सकोस । यहाँबाट जाने बेलामा पनि सहजतापूर्वक जानुहोस र जुन देशमा, जुन गन्तव्यमा उहाँहरु पुग्नुहुन्छ त्यहाँ पनि सुरक्षित रुपमा रहनुहोस र जे प्रयोजनका लागि गएको हो त्यही प्रयोजनका लागि आफ्नो भिसालाई प्रयोग गर्नुहोस् भन्ने नै हाम्रो प्रयत्न हो ।’

प्रतिक्रिया