सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा

नेपालखोज २०७८ माघ २४ गते २०:०२

काठमाडौं । केमिकल एन्ड मेडिकल आपूर्तिकर्ता संघ (केमसन)का अध्यक्ष सुरेश घिमिरेले सरकारसँग स्वास्थ्य उपकरण तथा रसायन परीक्षण गर्ने मेकानिजम नै नभएको खुलासा गरेका छन् ।

संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्य परीक्षण उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन (केमसन)का अध्यक्ष घिमिरेले सो कुरा बताएका हुन् । उनले मेडिकल औषधीहरु आयात नीतिगतरुपमा व्यवस्थित भएपनि स्वास्थ्य उपकरणहरुको आयातमा भने मन लाग्दी हुने गरेको बताए ।

अध्यक्ष घिमिरेले सरकारसँग गुणस्तरीय स्वास्थ्य सामाग्री आयात भए/नभएरको परीक्षण गर्ने नीतिगत व्यवस्थासम्म पनि नभएको बताए । उनले राज्यसँग स्वास्थ्य उपकरण गुणस्तर परीक्षण गर्ने मेकानिजम नै नभएकाले कोरोना महामारीको समयमा स्वास्थ्य सामाग्री जथाभावी रुपमा आयात भएको तथ्य स्मरण गराए । कपडा, फलफूल आयात गर्ने व्यवसायीले समेत नेपालमा स्वास्थ्य उपकरणका सामाग्री आयात गर्ने गरेको उनको भनाई छ ।

अध्यक्ष घिमिरेले सरकारले स्वास्थ्य उपकरण सामानको बजारमा गुणस्तरियता भन्दापनि व्यापारीहरुले कति नाफा खाए भनेर मात्रै अनुगमन गर्ने आरोप लगाए । सरकारले तत्काल स्वास्थ्य सामाग्रीको गुणस्तरीयता परीक्षणका लागि ल्यापको व्यवस्था गर्नुपर्ने अध्यक्ष घिमिरेले बताए ।

त्यस्तै अध्यक्ष घिमिरेले कोरोना महामारीको शुरुवातको जस्तै पछिल्लो समय स्वास्थ्य उपकरणको अभाव नभएको बताए । उनले अहिले बजारमा कुनै पनि मेडिकल उपकरणहरुको अभाव नरहेको बताए । अहिले बजारमा औषधीको धेरै माग भएकाले पारासिटामोल लुकाएर कृतिम अभाव भएको घिमिरेले स्वीकार गरे ।

उनले आपूर्ति संघले गुणस्तरहीन सामान आयात रोक्नको लागि बारम्बार सरकारसँग छलफल गर्दैै आएको बताए । तर सरकारले स्वास्थ्य उपकरण आयात गर्दा गुणस्तरीय मापन गर्ने कार्यविधि २०७०/७१ सालमा बने पनि अहिलेसम्म कार्यान्वयनमा नल्याएको अध्यक्ष घिमिरेले गुनासो गरे ।

अध्यक्ष घिमिरले पछिल्लो समय स्वास्थ्य उपकरणका विभिन्न स्वास्थ्य सामाग्रीहरु बजारमा नक्कली पाउन थालेकाले यस्ता सामाग्री आयात नगर्न व्यवसायीहरुलाई संघले सचेत गराउँदै आएको बताए ।

प्रतिक्रिया