सभामुखविरुद्धको महाभियोगमा हस्ताक्षर गर्न एमालेका १०० जना तयार छौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले सभामुखविरुद्ध महाभियोग ल्याउन सकिने बताएका हुन् ।
उनले एमालेले भने महाभियोग सम्बन्धमा ठोस निर्णय नगरेको स्पष्ट पारे । उनले भने, ‘एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस, पास या फेल हुने कुरा एउटा कुरा भयो, त्यसपछाडि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्नेपनि आएको छ, त्योबारेमा चाहीँ नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको कारणले त्यो विषयमा अहिले मैले यो नै हुन्छ भनेर भन्न सक्दिनँ । तर, एउटा विषय त्यो पनि हुनचाहीँ सक्छ । सभामुखज्यूलाई महाभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ ।’
उनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि स्पष्ट पारे । उनले भने, ‘हामी सय जना स्ट्याण्डबाई छौं । जुनबेला पनि सही गर्न तयार नै छौं । त्यसलाई संख्या पुर्याउने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्यो भने त्यो हुनसक्छ ।’
उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने जुन घोषणा भएकोमा स्वागत गर्दै सरकारलाई धन्यवाद दिए । उनले भने, ‘स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको छ, म सरकारलाई धन्यवाद भन्न चाहन्छु । मिडियाको तर्फबाट ठूलो दबाब सिर्जना गर्नुभयो । प्रमुख प्रतिपक्षी दलले आन्दोलनको कार्यक्रम नै घोषणा गर्नुपरेको थियो ।’
स्थानीय तहको निर्वाचनको सवालमा आफ्नो दलले कसैसँगपनि गठबन्धन नगर्ने बस्नेतको दाबी छ । उनले भने, ‘कुनैपनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ । एमालेमात्रै विश्वस्तका साथ निर्वाचनमा जान चाहन्छ ।’
पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको उनले आरोप लगाए । उनले भने, ‘उहाँहरु सकेसम्म निर्वाचन टार्ने अवस्थामा हुनुहुन्छ, सकेसम्म निर्वाचनमा जाँदा कांग्रेससँग गठबन्धन गर्ने उहाँहरुको योजना छ, त्यो पनि नभए एमालेसँग पनि विभिन्न शक्तिको इशारामा उहाँहरुले एमालेका नेताहरुसँग साईनो र सम्बन्ध राख्ने काम गर्नुभएको छ, यसबारे प्रधानमन्त्री देउवापनि सचेत हुन आवश्यक छ ।’
बस्नेतले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको पत्रको विषयमा पनि उनले प्रश्न उठाए । उनले भने, ‘एमसीसीलाई प्रधानमन्त्री देउवा र प्रचण्डले जुन पत्र लेख्नुभयो । प्रधानमन्त्रीको हैसियतले लेखेको पत्र, प्रधानमन्त्री भनेको पावर अफ द स्टेट भनिन्छ । यो विषय स्वभाविक पनि होला । प्रचण्डले हस्ताक्षर गरेको कुरा पावर अफ स्टेटको दुरूपयोग हो । यो राज्य शक्तिको दुरुपयोग हो ।’
एमसीसीबारे एमालेले पर्याप्त अध्ययन गरेको पनि उनको दाबी छ । सत्तापक्षले आफ्नो धारणा अघि सार्ने बित्तिकै एमालेले आफ्नो धारणा राख्ने उनले स्पष्ट पारे । उनले भने, ‘एमालेले एमसीसीबारे पर्याप्त अध्ययन गरेको छ, नेकपाकालिन अवस्थामा कार्यदल निर्माणदेखि औपचारिक रुपमा पनि अध्ययन गरिरहेको छ । सत्ता पक्षले एउटै धारणा नबनाईरहेको अवस्था छ, उसले एउटा विकास परियोजनालाई आकाश नै खस्न लागेकोजस्तो दोहोरो र तेहोरो भूमिका खेलेको छ । अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्ने सन्दर्भमा एमाले सकारात्मक छ, हामी सकारात्मक भूमिका खेल्न तयार छौं ।’

प्रतिक्रिया