आयोगले भन्यो- सबै काम फास्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्छ

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज संचारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि १२० दिन पाउनुपर्नेमा अब केवल ९०/ ९५ दिन मात्रै आयोगसँग भएकाले सबै कामहरु फाष्टट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने उनले बताए । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले निर्वाचनमा खर्च बढ्ने भएको उनले उल्लेख गरे ।
आयोगले निर्वाचनमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका नयाँ राजनीतिक दलहरुपनिको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगका प्रवक्ता पौडेलले बताए । हाल आयोगमा १०५ वटा राजनीतिक दल दर्ता भएका र निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन सक्ने उनले स्पष्ट पारे ।
आयोगले सरकारले तोकेको २०७९ बैशाख ३० गते निर्वाचन सम्पन्न गर्न सक्ने बताएको छ । प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरिएको बताए । निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नेगरी आयोग अगाडी बढिरहेको उनले बताए । उनले निर्वाचनका लागि जनशक्तिको समस्या नभएको पनि बताए । निर्वाचन सम्बन्धी कानूनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने उनले बताए ।
आयोगले केही दिनभित्रमै २०७९ बैशाख ३० गते सम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुनभने अझै डेढ महिना लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया