शुक्रबार, जेठ ३, २०८२

केवल दुई दिनमै देखिन्छ कोरोनाको लक्षण !

नेपालखोज २०७८ माघ २६ गते १४:१५

काठमाडौं । कोरोना भाइरसको प्रकोपले संसारलाई छाड्ने कुनै संकेत देखिएको छैन । जसरी कोरोनाका नयाँ-नयाँ भेरियन्ट देखापरिरहेका छन् त्यसले सारा संसारलाई चिन्तामा पारेको छ । डेल्टा र ओमिक्रोनजस्ता नयाँ भेरियन्ट आएपछि यो घातक भाइरसको लक्षण पनि परिवर्तन भएको छ ।

कोरोनाको प्रकोप सुरु भएको दुई वर्षभन्दा बढी भए पनि अहिलेसम्म यसको स्थायी उपचार फेला परिसकेको छैन । चिन्ताको विषय के पनि हो भने नयाँ-नयाँ अनुसन्धानले यो भाइरसका विषयमा नयाँ-नयाँ तथ्य अगाडि ल्याउँछन् र त्यसले मानिसहरुलाई डराउन बाध्य बनाउँछ ।

यसबीच एउटा नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ जसअनुसार कोरोना भाइरसको लक्षण १० देखि १४ दिनमा होइन कि दुई दिनमै देखा पर्न थाल्छ । कोरोना भाइरसको लक्षणसम्बन्धी यो अध्ययन इम्पिरियल कलेज लन्डनले डीएचएससी तथा रोयल फ्री लन्डन एनएचएस फाउन्डेसन ट्रस्टसँगको सहकार्यमा गरेको हो । अध्ययनका क्रममा शोधकर्ताहरुले केही स्वस्थ व्यक्तिलाई कोरोना भाइरसबाट संक्रमित गरेका थिए ।

यसबीच उनीहरुले ती व्यक्तिको शरीर भाइरसको सम्पर्कमा आएपछि संक्रमणको विकास र लक्षणहरुको परिवर्तन अध्ययन गरेका थिए । यो यस किसिमको पहिलो अध्ययन हो जसले संक्रमणको पहिलो दिनदेखि यसको समाप्तिसम्मको स्थितिमा नजर पुर्याएको थियो । शोधकर्ताहरुका अनुसार कोरोना भाइरसको संक्रमण गलाबाट सुरु भएर पाँच दिनभित्र आफ्नो चरममा पुगिसक्छ । यसबाट के बुझिन्छ भने कोरोना भाइरसको संक्रमण फैलन नदिने सबैभन्दा प्रभावकारी उपाय मुख तथा नाकलाई मेडिकल मास्कले छोप्नु नै हो । शोधकर्ताहरुका अनुसार लेटरल फ्लो टेस्ट (एलएफटी) भाइरसबाट संक्रमित व्यक्तिले यो संक्रमण अन्य मानिससम्म पुर्याउँछ कि पुर्याउँदैन भन्ने कुरा जाँच्ने प्रभावकारी उपाय हो ।

स्वस्थ व्यक्तिमा भएको पहिलो अध्ययन
यो परीक्षणमा ३६ जना कोरोनाविरुद्धको खोप नलगाएका स्वस्थ व्यक्तिले सहभागिता जनाएका थिए । यी व्यक्ति पहिले पनि कोरोना भाइरसबाट संक्रमित भएका थिएनन् । उनीहरुको आयु १८ वर्षदेखि ३० वर्षको बीचमा थियो । ती ३६ सहभागीमध्ये केवल १८ जना कोरोना भाइरसबाट संक्रमित भए भने १६ जनालाई केवल हल्का लक्षण महसुस भयो ।

दुई दिनमै देखियो लक्षण
शोधकर्ताहरुका अनुसार जसलाई कोरोना भाइरसबाट संक्रमित गरिएको थियो तीमध्ये केही हल्का त केही गम्भीर लक्षणले ग्रस्त भए । ती लक्षणमा सिँगानले भरिएको वा पानी बगिरहेको नाक, हाछिउँ, खोकी तथा गला खसखसाउने जस्ता हल्का वा मध्यम लक्षण प्रमुख थिए । यसक्रममा सहभागीहरुले गम्भीर संक्रमण अनुभव गरेनन् । १३ जनाले गन्धमा कमि महसुस गरेको बताए भने तिनको यो क्षमता पनि ९० दिन भित्र फिर्ता आएको पाइयो ।

देखिएन गम्भीर लक्षण
शोधकर्ताहरुका अनुसार अनुसन्धानमा संलग्न व्यक्तिमध्ये कसैले पनि आफ्नो फोक्सोमा कुनै परिवर्तन वा कुनै गम्भीर प्रतिकूल घटना अनुभव गरेनन् । यसको सम्भावित दीर्घकालीक प्रभाव बुझ्न सबै सहभागीलाई १२ महिनासम्म निगरानीमा राखिएको छ ।

कोरोनाबाट जोगिने उपाय
शोध प्रतिवेदनमा कोरोनाबाट जोगिन मुख तथा नाक दुवैलाई राम्रोसँग छोप्नुपर्ने कुरा उल्लेख गर्दै यसका लागि उपयुक्त फेस मास्क प्रयोग गर्नुपर्ने कुरा बताइएको छ ।

प्रतिक्रिया